सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ४६६ मृतकका आफन्तलाई २३ लाख ३० हजार दाउरा खर्च उपलब्ध

२०८१ कार्तिक २३, १०:३२ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले २०८० पुस ९ गतेदेखि निःशुल्क रुपमा शव चिस्यान सेवा सुरु गरेको थियो।

उपमहानगरभित्र कुनै नागरिकको निधन भएमा प्रदान गरिदै आएको सेवा छिमेकी पालिकाहरुमासमेत विस्तार गरिएको छ। उपमहानगरभित्र कार्यरत नगर प्रहरीले कैलालीको कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकाका नागरिकलाई शव चिस्यान सेवा उपलब्ध गराउँदै आएको छ।

उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक पदमबहादुर गैरेले कन्ट्रोलमा खबर आएपछि यस्तो सेवा दिने गरेको बताए। उनले भने, ‘हाम्रो कन्ट्रोलमा फोन आउने गरेको छ। फोन आएपछि हामीले निःशुल्क शव चिस्यान सेवा दिने गरेका छौ।’ उपमहानगरपालिकाले हालसम्म १९५ मृतकका परिवारलाई यस्तो सेवा उपलब्ध गराइसकेको छ।

नगर प्रहरीले १९५ मृतक शरिरलाई उनीहरुका सन्तान तथा आफन्तको प्रतिक्षाका लागि शव चिस्यान यन्त्रमा राखेको छ। कसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ। मृतकका आफन्त काम विशेषले घरबाहिर भएका र उनीहरु नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन्।

उपमहानगरले विद्युतबाट सञ्चालन हुने पाँचवटा शव चिस्यान मेसिन खरिद गरेको छ। तीनवटा धनगढीबासीका लागि तथा दुईवटा चिस्यान मेसिन छिमेकी पालिकालाई उपलब्ध गराउने गरिएको छ। धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर उपमहानगरपालिकाले मृतकको घरैमा नगर प्रहरी पठाएर आफन्तलाई दाहसंस्कार गर्न नगद पाँच हजार दिने गरेको छ।

२०८० असोज १ गतेबाट सुरु भएको यो सेवाबाट हालसम्म ४६६ परिवार लाभान्वित भएका छन्। उपमहानगरपालिकाले एक वर्षमा २३ लाख ३० हजार रुपैयाँ दाउरा खर्चका लागि मृतकका परिवारलाई वितरण गरेको छ। यसका लागि दुईजना नगर प्रहरी मृतकको घरमै गएर रकम हस्तान्तरण गर्ने र उपमहानगरपालिकाको झण्डा ओढार सलामी दिने गरेका छन्।

नगरप्रहरीले हालसम्म ४२ जना मृतकलाई सलामी दिइसकेको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक गैरेले पाँच हजारका दरले दाउरा खर्च दिने गरिएको बताए। उनले भने, ‘दाहासंस्कार धनगढीका १९ वटा वडाहरुमा मात्र हो। टायरमा जलाउन नपरोस भनेर दिने गरेका छौ। केहीलाई सलामी मात्र दिने गरेका छौ।’ धनगढी उपमहानगरपालिकाले घर तथा अस्पतालबाट घाटसम्म तथा अस्पतालबाट घरसम्म शव लैजान निःशुल्क शववाहन सेवा उपलब्ध गराउँदै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस