सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउसीपछि वनभोज जाने समय सुरु, सुरक्षीत रहन प्रहरीको सुझाव

२०८१ कार्तिक १९, ०५:४७ कमल सावद

धनगढी: कैलाली र कञ्चनपुरमा देउसीपछि वनभोज जाने समय सुरु भएको छ। तिहारमा देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी–भाइ मिलेर वनभोज नाने र रमाइलो गर्ने चलन छ। कैलाली र कञ्चनपुरका पर्यटकीय तथा वनभोज जाने क्षेत्रहरूमा युवायुवतीहरूको भिड हुने गरेको छ।

प्रहरीले जोखिमयुक्त क्षेत्रहरूमा वनभोजका लागि नजान आग्रह गरेको छ। कैलाली र कञ्चनपुरका वनभोज खाने ठाउँहरूमा प्रहरीले गस्ती गर्ने भएको छ। वनभोज हुने क्षेत्रहरूमा प्रहरीले सुरक्षा दिने बताएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले वनभोज जाने समयमा झगडा हुने, नदीमा डुब्ने, दुर्घटना हुने जोखिम हुने बताए। उनले भने, ‘वनभोज क्षेत्रमा गस्ती गर्ने छौ। मानिसहरूको सङ्ख्या लिने छौ। हाम्रो दैनिक गस्ती पनि हुन्छ। सिडिओ सापसँग पनि छलफल गर्छाै। के गर्ने, के नगर्ने भन्ने विषयमा छलफल गरेर निर्णय हुन्छ।’

कैलाली र कञ्चनपुरमा देउसी भैलो खेलेर उठेको रकमले दौतरीहरूसँग मिलेर वनभोज गएका बेला हरेक वर्ष घटना हुँदै आएका छन। वनभोजमा गएको यातायातको साधन दुर्घटनामा पर्ने र बालबालिकाहरूले अन्य खालका जोखिमसमेत हुने गरेका छन। अभिभावक बिना बालबालिकाहरू वनभोजमा जाने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो। वनभोजमा जाने सवारी, यात्रुको सङ्ख्या, सडक, वनभोज स्थलका बारेमा जानकारी राख्न प्रहरीले भनेको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख चक्रराज जोशीले वनभोजको समय सुरु भएकाले मातहतलाई भनेको बताए। उनले भने, ‘वनभोज क्षेत्रमा घटनाहरू हुन्छन। हामी पनि वनभोज क्षेत्रमा विशेष केन्द्रित हुन्छौ।’

कैलाली र कञ्चनपुरका युवा–युवती तथा बालबालिकाहरू ताल–तलैया, नदी किनार, चुरेको फेदी लगायतका ठाउँमा वनभोजका लागि जाने गरेका छन। घरबाट वनभोज खाने ठाउँसम्म जाने सडक, सवारी तथा उक्त क्षेत्रमा पनि डुबेर ज्यान जानसक्ने लगायतका जोखिम हुने गरेका छन। तर, वनभोज हुने क्षेत्रहरूमा प्रहरीले निगरानी गर्ने तर्क गरेको छ। कैलाली र कञ्चनपुर प्रहरीले वनभोज हुने क्षेत्रहरूमा गस्ती गर्ने भएको हो।

कैलालीमा वनभोज खान जाने ठाँउहरू भनेर तालको छेउ, नदि किनार र चुरे पहाडको फेदीका साथै भन्ज्याङ रोजिईमा पर्ने गरेका छन। ती सबै ठाउँमा केही न केही जोखिम पनि भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो। देउसी खेलेको रकम सामाजिक कार्यमा खर्च गर्ने परिपाटी रहेपनि पछिल्ला वर्षहरूमा वनभोज जाने चलन बढेको छ। त्यसैले वनभोज गएका बेला दौतरीहरू बिच नै झैझगडासहित बलात्कारका घटना समेत हुने भएकोले पनि सावधानी अपनाउन आग्रह गरिएको छ।

वनभोज जादा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखिमको समेत खतरा हुन्छ। देउसी–भैलोपछि, कैलालीका गोदावरी, चिसापानी, खानीडाडा, घोडाघोडी ताल, टीकापुर पार्क, जाखौर ताल, चुरे फेदीका विभिन्न ठाँउहरू सहित कञ्चनपुरको दोधारा चाँदनी र बेतकोट तालमा लगायतका पर्यटकीय स्थानमा वनभोजका कार्यक्रम हुँदै आएका छन।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस