धनगढीको मोहना छठीघाट सिँगारिँदै
धनगढी : सूर्यको पूजा आराधना गरि मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना छठी घाट बेहुली झै सिङ्गार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट पूरै सरसफाइ गरी झकिझकाउ बनाइएको हो।
पूजास्थल सजावटका लागि बच्चादेखि वृद्धसम्मका मानिसहरू जुटेका छन्। घाटमा पूजा गर्नका लागि पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिले बताएको छ।
निर्माण गरिएका पूजास्थानमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ। मोहना घाट पूजास्थानमा भक्तजन तथा दर्शनार्थीहरूको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ।
पूजा स्थलमा सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ। देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगड ल्याई प्रतिमा निर्माण तथा सिँगारपटार गरिएको छ।
मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ। भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरूको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ।
यस पर्वको प्रारम्भ कात्तिक २० गतेबाट बर्तालुहरूले ‘नहाय–खाय’ विधिबाट सुरु गर्ने छन। श्री छठ पूजा सेवा समिति, धनगढीका सल्लाहकार दीप श्रेष्ठले छठ पर्व कात्तिक २०, २१, २२ र २३ गतेसम्म मनाइने बताए। छठ सूर्यलाई अर्घ्य दिई समापन गर्ने गरिन्छ। छठ प्रकाशको मुख्य स्रोत रहेको सूर्यको पूजा गर्ने पर्व हो।