धनगढीमा सात करोड ५३ लाखको राना सांस्कृतिक सङ्ग्रहालय तयार
धनगढीः कैलालीको धनगढीमा राना सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम पूरा भएको छ। सङ्घीय र स्थानीय सरकारको सात करोड ५३ लाखको लगानीमा संग्रहालय निर्माणको काम सकिएको हो।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा निर्माण गरिएको सङ्ग्रहालय सञ्चालनमा आएको छैन। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले धनगढी उपमहानगरपालिकालाई सङ्ग्रहालय हस्तान्तरण गरेको छ। धनगढी उपमहानगरपालिकाले सञ्चालनका लागि चालु आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको छ। राना थारू समाजका अध्यक्ष कमल रानाले हस्तान्तरणको काम भएको बताए। उनले भने, ‘राना थारू र थारू सङ्ग्रहालयका लागि २५ लाख बजेट रहेछ। हस्तान्तरण भएको छैन। हामी छलफलमा छौ। सञ्चालनमा आएको छैन।’
रानाहरूको मौलिक संस्कृति, भेषभूषा, कलाको संरक्षण संवर्धन तथा अध्ययन, अनुसन्धानका लागि धनगढीमा राना सांस्कृतिक सङ्ग्रहालय निर्माण भएको हो। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा राना सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सकिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले सङ्ग्रहालय हस्तान्तरण गरेको छ। राना थारू समाजका अध्यक्ष कमल रानाले प्रतिष्ठानका रुपमा संग्रहालय सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘राना थारूको इतिहास पूरा छैन। अध्ययन अनुसन्धानका लागि पनि हुनुपर्छ। प्रतिष्ठानका रूपमा लैजानु पर्छ। राना थारूका वास्तुकला, पहिरन, घरको बनावट, नाचगानको अध्ययनको केन्द्र र पुराना सामाग्रीको सङ्कलन गर्नुपर्छ।’
धनगढीमा निर्माण गरिएको सङ्ग्रहालयमा कैलाली–कञ्चनपुरका राना समुदायले आफ्नो कला, संस्कृति तथा भेषभूषाको प्रदर्शन गर्ने छन। राना समुदायहरूको परम्परागत सामाग्रीहरूको प्रदर्शन गरिने तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना समेत गरिने छ। परम्परागत भेषभूषाबारे अध्ययन गर्न तथा जानकारी दिइने छ। सहरी विकासमार्फत तीन वर्षमा निर्माणको काम सक्ने गरेर २०७६ असार २० गते ठेक्का सम्झौता भएको थियो। तर, बजेट अभाव लगायतका कारणले ढिलो मात्र सङ्ग्रहालय निर्माणको काम पूरा भएको हो।
सात करोड ५३ लाख ६८ हजारमा निर्माण भएको उक्त सङ्ग्रहालयमा स्थानीय र सङ्घीय सरकारको सयुक्त लगानी छ। धनगढी उपमहानगरपालिकाको ८० लाख, पर्यटन बोर्डको ७० लाख, तराई मधेस समृद्धि कार्यक्रमको ६० लाख, नारदमुनि रानाको संसद् कोषको ४० लाख र बाँकी संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयको लगानी रहेको छ। धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको सङ्ग्रहालय सञ्चालनका लागि २५ लाख बजेट विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिकाले राना संस्कृति सङ्ग्रहालय र पटेलाको थारू सङ्ग्रहालय सञ्चालनका लागि २५ लाख बजेट विनियोजन गरेको हो। राना थारू समाजका अध्यक्ष कमल रानाले सुदूरपश्चिममा राना पुरानो जाती रहेको बताए।
धनगढीमा राना थारू सङ्ग्रहालय र थारू सङ्ग्रहालय निर्माणको काम पूरा भएपनि सञ्चालनको मापदण्ड तयार भएको छैन। धनगढी उपमहानगरपालिकाले सञ्चालनको मापदण्ड तयार नपारेको हो।