सुदूरपश्चिममा कर्मचारी सरुवामा आर्थिक चलखेल!
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले गरेको कर्मचारी सरुवामा आर्थिक चलखेल भएको आरोप लागेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक ७ र आर्थिक मामिला मन्त्रालयले कात्तिक १३ गते कर्मचारी सरुवा गरेको हो। बाँकी मन्त्रालयले कात्तिक १४ गते कर्मचारी सरुवा गरेका हुन्।
मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालयसहित अन्य मन्त्रालयहरूले गरेको कर्मचारी सरुवा नियम सँगत, निष्पक्ष र पारदर्शी नभएको गुनासो गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यो वर्ष सेटिङमा कर्मचारी सरुवा गरेको आरोप लागेको छ। मन्त्रालयले आर्थिक चलखेल गरेर कैलाली र कञ्चनपुरमा पहाडी जिल्लाबाट सरुवा भएका मध्ये ५० प्रतिशत भन्दा बढी कर्मचारी भित्र्याएको छ। कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला सरुवा हुने कर्मचारीको सङ्ख्या भने न्यून छ।
चलखेल गर्नेहरूलाई सुगम सरुवाको अफर
कात्तिक ७ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ४४ जना कर्मचारीको सरुवा ग¥यो। यस्तै, कात्तिक १४ गते भौतिक पूर्वाधार विकास मन्त्रालयले ४३ जना कर्मचारीको सरुवा गरेको छ।
प्रदेश सरकारले यो पटक प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७७ विपरीत गरेको छ। कार्यविधिमा बझाङ, बाजुरा, दार्चुला, अछाम र बैतडी जिल्लामा कार्यरत कर्मचारीलाई डेढ वर्षपछि सरुवा गर्न मिल्ने व्यवस्था छ।
यस्तै, कैलाली र कञ्चनपुरमा कार्यरत कर्मचारीको सरुवा दुई वर्ष पूरा भएपछि गर्ने व्यवस्था समेत यो पटक लत्याइएको छ। जसको उदाहरण डोटीबाट एक वर्षमै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलाली सरुवा भएका इन्जिनियर ग्रीष्म थापा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलाबाट एक वर्षमै कैलाली सरुवा भएका इन्जिनियर डम्बरप्रसाद धिताल हुन्। धिताल र थापा अघिल्लो वर्षसम्म लगातार ४ वर्ष कैलाली बसेका कर्मचारी हुन्। दुबै जनालाई गत वर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयले दार्चुला र डोटी सरुवा गरेको थियो। एक वर्षमै दुबै जना शक्तिको प्रयोग गरी कैलाली आउन सफल भएका हुन्। दुई वर्षपछि मात्रै सरुवा हुनुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कैलालीका इन्जिनियर डम्बरबहादुर पाल एक वर्षमै डडेल्धुरा लखेटिएका छन् भने डडेल्धुराका श्रीरामरथ खरेल एक वर्षमै डडेल्धुराबाट दार्चुला धपाइएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १४ गते ४३ जना कर्मचारीको सरुवा गरेको छ। जसमध्ये सरुवा भएको एक वर्ष नपुग्दै कैलाली र कञ्चनपुर फर्किने कर्मचारीको सङ्ख्या २५ छ।भौतिक पूर्वाधार मन्त्रालयलाई आर्थिक लाभ लिएर कर्मचारी सरुवा गरेको आरोप लागेको छ। कर्मचारी स्रोतले मन्त्रालयले आर्थिक लेनदेन र पहुँचको भरमा कर्मचारी सरुवा गरेको बताएको हो। तर, आर्थिक चलखेल गरेको प्रमाण फेला परे कारबाही गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले आर्थिक चलखेल भएको प्रमाण भए कारबाही गर्ने बताए। ‘सरुवामा कसैले पैसाको चलखेल गरेको छ भने तपाईहरूले पनि मलाई सहयोग गर्दिनुप¥यो, म पनि आफ्नो तरिकाबाट बुझौला,’ उनले भने, ‘प्रमाण फेला परे कारबाही गर्न मेरो तर्फबाट कुनै सम्झौता गरिने छैन।’
कैलाली र कञ्चनपुरमा लामो समय बसेका कर्मचारी फेरि फर्किए
भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी सरुवा गर्दा सुगमको कर्मचारीलाई सुगम र दुर्गमको कर्मचारीलाई झन दुर्गम सरुवा गरेको छ। मन्त्रालयले यो वर्ष ४३ जना कर्मचारीको सरुवा गर्दा पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरमा २५ जनलाई ल्याएको छ भने कैलालीबाट सरुवा भएका ८ जना कर्मचारी मध्ये २ जनाको कैलालीमै तथा एक जनालाई कञ्चनपुर पठाइएको छ। यस्तै, कञ्चनपुरबाट पाँच जनाको अन्यत्र सरुवा भएको छ जसमध्ये ३ जना कर्मचारीले कैलाली आउने अवसर पाएका छन्।
भौतिक पूर्वाधार मन्त्रालयका १३ जना प्राविधिक कर्मचारीहरूको गत वर्ष गरिएको सरुवा यो पटक उल्ट्याइएको हो। एक वर्षमै सरुवा हुने अवसर पाउनेहरू पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुर ल्याइएको हो। भौतिक पूर्वाधार मन्त्रालयको सरुवामा व्यापक चलखेल भएको दाबी गरिएको छ। कर्मचारीको अभाव खेपिरहेको प्रदेश सरकारले भएका कर्मचारीहरूलाई समेत कैलाली र कञ्चनपुरमै थुपार्ने काम गरेको छ। जसले गर्दा पहाडी जिल्लाका पूर्वाधार तर्फका योजना कार्यान्वयनमा समस्या हुने भएको छ। दरबन्दी नै रिक्त राखेर कर्मचारी सरुवा गरिएको भए मन्त्रालयसँग आधिकारिक रूपमा बुझेर आवश्यक व्यवस्था मिलाइने मुख्यमन्त्री शाहको भनाइ छ।
दरबन्दी नै नभएको कार्यालयमा सरुवा
मन्त्रालयले चार वर्ष भू तथा जलाधार कार्यालय बैतडी बसेका इन्जिनियर विनोद शाहलाई सरुवा गरेको छैन भने सडक उपसमूहका रमेश भट्टलाई स्यानिटरी उपसमूहको कर्मचारीको दरबन्दी हुने खानेपानी तथा सरसफाइ कार्यालयमा काज सरुवा गरिएको छ। यस्तै, सडककै सव–इन्जिनियर सुरेशकुमार मण्डललाई उनको पदको दरबन्दी नै नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा पठाइएको छ। भट्ट र मण्डल दुबै जनालाई यातायात पूर्वाधार निर्देशनालयबाट डोटी र डडेल्धुरा धपाइएको हो। सडक उप–समूहको कर्मचारीको खानेपानी कार्यालयमा दरबन्दी नै छैन। तर, लखेटाइमा परेका भट्ट र मण्डल खानेपानी सरुवा भएका छन्।
यी हुन् एक वर्षमा सरुवा हुने सव–इन्जिनियरहरू
एक वर्षमै सरुवा हुन पाउने भाग्यमानी कर्मचारी मध्ये बैतडीमा कार्यरत सव–इन्जिनियर सुरेशकुमार शाहको सरुवा कैलाली भएको छ। यस्तै, कञ्चनपुरमा कार्यरत लक्ष्मणकुमार न्यौपाने, डोटीमा कार्यरत मनिराम लामिछाने, डडेल्धुरामा कार्यरत डेनबहादुर खत्री र बझाङमा कार्यरत इन्जिनियर टेकराज विनाडीको सरुवा कैलालीमा गरिएको छ। एक वर्षमै सरुवा हुनेमा इन्जिनियर महादेव विष्टको बझाङबाट तथा सव–इन्जिनियर मेनुका जोशीको अछामबाट कञ्चनपुर सरुवा गरिएको छ। कर्मचारी सरुवामा चलखेल भएको गुनासो आफूकहाँ समेत पुगेको मुख्यमन्त्री शाहले बताए। उनले तिहारको बिदापछि मन्त्रालयहरूसँग सरुवाको विषयमा बुझ्ने बताएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी सरुवा विभेद र आर्थिक चलखेल गरेको दाबी कर्मचारी स्रोतको छ। कैलाली र कञ्चनपुर जिल्लामा लामो समय काम गरेर गत वर्ष मात्रै सरुवा भएका कर्मचारीलाई यो पटक पुरानै कार्यालयमा फर्काइएको छ। पहुँच र चलखेल गर्न नसक्ने कर्मचारीको भने दुर्गमबाट थप दुर्गमा जिल्लामा गरिएको छ।