यु–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिम विजयी
सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशको टोली ३६ दशमलव ५ ओभरमा १ सय २ रनको सामान्य योगफलमा समेटिएको थियो।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि सचिन भट्टले ५ विकेट लिए। गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ र सिव्रिन श्रेष्ठले २५ रन बनाए। निर्धारित लक्ष्य सुदूरपश्चिमको टोलीले २६ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। सुरुआत खराब गरे पनि सुदूरपश्चिमका लागि मध्यक्रमले सम्हालिएर ब्याटिङ गरेको थियो।
मध्यक्रममा आशिष लुहारले ३९ र युवराज खत्रीले २७ रन बनाए। ओपनरद्वय अभिषेक थापा शून्य, प्रकाश पाण्डे ४ रनमा पवेलियन फर्केका थिए। त्यसपछि क्रिज पसेका नरेन भट्ट पनि शून्यमा आउट भए। जित हात पारेको सुदूरपश्चिम ३ खेलमा ४ अंक बनाएर तालिकाको दोस्रो स्थानमा रहेको छ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ४१ रनले पराजित भएको थियो। त्यसैगरी गण्डकी ४ अंकसहित तेस्रो स्थानमा रहेको छ।
लुम्बिनी प्रदेश विराटनगरमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा रहेको छ। त्यसैगरी आजै भएको अर्को खेलमा लुम्बिनीले बिहीवार विराटनगरको मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न आफ्नो चौथो खेलमा बागमतीलाई १ सय २ रनले पराजित गर्दै तालिकाको शीर्षस्थान कायम राखेको हो। लुम्बिनीको ४ खेलबाट ८ अंक जोडेको छ।
बागमतीविरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा २ सय ७८ रनको योगफल बनाएको थियो। लुम्बिनीको जितमा ओपनर तथा कप्तान आकाश त्रिपाठीले ७७, सन्तोष यादवले ६३, र विकेटकिपर दिलसाद अलीले अविजित ५४ रन बनाए। बागमतीका लागि दयानन्द मण्डल र दिनेश विष्टले समान २ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा बागमतीको टोली ४४ दशमलव ४ ओभरमा १ सय ७६ रनमा समेटिएको थियो। बागमतीलाई धराशायी बनाउने क्रममा आकाश त्रिपाठी र सन्तोष यादवले समान ३ विकेट लिए। बागमतीका लागि मध्यक्रममा रोहन विश्वकर्माले अविजित ७३ रन बनाए।