सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि फाइनलमा नेपाल बंगलादेशसँग पराजित 

२०८१ कार्तिक १४, ०८:४२ खबर संवाददाता

काठमाडौंः फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ।

बंगलादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो। बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन्। नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन्। तीनै गोल दोस्रो हाफमा भएको हो।

खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन्। कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन्। तर नेपालले चार मिनेटमै गोल फर्कायो। नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन्। प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन्।

८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन्। करिब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन्। यहि गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो। नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो। साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो।

कमेन्ट लोड गर्नुस