साफ महिला च्याम्पियनसिप: बंगलादेश र नेपाल भिड्दै
काठमाडौं: सात राष्ट्रसम्मिलित दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को ग्रान्ड फिनालेमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र नेपाल भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ः४५ बजे हुनेछ। सन् २०२२ को संस्करणमा सबिना खातुनको कप्तानीम रहेको बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलो पटक साफको उपाधि जितेको थियो। त्यसयता बंगलादेशले नेपालसँग दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।
बंगलादेशले गत आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणको अन्तिम खेलमा सबिनाले दुई गोल गरेपछि बंगलादेशले गत साता भारतमाथि ३–१ को सहज जित निकालेको थियो।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको बंगलादेशले पाँच पटकको साफ च्याम्पियन भारतलाई पराजित गर्दै समूह विजेता बनेको हो। बंगलादेशको राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक पिटर बटलरले पनि फाइनलमा यस्तै प्रदर्शनको अपेक्षा गरेका छन्।
पाँच पटकको साफ उपविजेता नेपालले दोस्रो सेमिफाइनलमा भारतलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी भएको थियो। यसअघि समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।