सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सशस्त्र प्रहरी र तस्करबिच नै साठगाँठ! पचाइयो ३० हजार

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक १२, ०६:५८ नारायण अवस्थी

धनगढीः आइतवार साँझ भारततर्फको सीमावर्ती बजार वनगाउँका राना थरका तस्करलाई सशस्त्र प्रहरी बल त्रिनगर गुल्ममा कार्यरत एक जनाले फोन गरे।

फोनमा सशस्त्रका ती अधिकारीले आइतबार साँझ ६ बजेदेखि रातिको १० बजेसम्म आफ्नो ड्युटी रहेकाले अवैध बाटो प्रयोग गरी सामान तस्करी गर्न सहयोग गर्ने बताएका थिए। त्यसपछि भारतीय तस्कर रानाले फोनमै डिल गरेर सो समय ड्युटीमा रहेका बिष्ट थरका दुई जना सशस्त्रका अधिकारीलाई १५ हजारका दरले ३० हजार नगद बुझाए।

राति ९ः१९ मा सशस्त्रका ती दुई जना अधिकारीले सामान ल्याउन तस्कर रानालाई फोन गरेका छन्। त्यसपछि रानाले वडा नम्बर २ को अक्सिजन ग्यास कम्पनी पछाडिबाट ६ जना नेपाली महिला भरियाबाट सामान तार्न ल्याउँछन्। तर सामान तस्करी गर्न दिन ३० हजार खाएका प्रहरीले नेपाली भरियालाई कुटपिट गर्दै ६ लाख २० हजारको सामान सशस्त्रको अर्को टोलीले बरामद गर्‍यो।

यसरी तस्करीको लाइन मिलाउन ३० हजार खाएर ६ लाख मूल्यको सामान बरामद गरी आफूहरूलाई प्रहरीले कुटपिट समेत गरेको बताउँदै तस्करीको सामान बोक्ने ६ जना नेपाली महिलाको दाबी छ। धनगढीसँग जोडिएको सीमा क्षेत्रमा भारतबाट तस्करी गर्न सशस्त्र प्रहरीले नै सहयोग गर्ने आरोप लगाइएको छ।

तस्करसँग रकम लिएर आपसी समन्वयमा रातिको समयमा दैनिक रुपमा विभिन्न स्थानबाट सामान तस्करी गराउन प्रहरीले नै सक्रिय रहेको ती भारतीयको दाबी छ। सशस्त्रका जवानदेखि हाकिमहरूले रकम असुलेर तस्करीका लागि लाइन मिलाउने गरेको आरोप ती भारतीयको छ। सशस्त्रले तस्करी गर्न सहजीकरण गर्ने र सो बापत उनीहरूले समानको मूल्याङ्कन गरी रकम माग गर्ने गरेको उनको दाबी छ। 

तर सशस्त्र प्रहरीको भने तस्करसँग सेटिङ नमिलाएको जिकिर छ। आइतबार राति १०ः३० को समयमा करिब ५ लाखको सामान बरामद भएको तर तस्करीका लागि लाइन मिलाउन भारतीय तस्करबाट पैसा लिएको विषयमा कुनै सत्यता नभएको सीमा सुरक्षा गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए।

‘आइतवार रातिको १०ः३० बजेपछि सशस्त्रको टोलीले पाँच लाखभन्दा बढीको समान बरामद गरेको हो। तस्कर समूहले ड्युटीमा रहेका प्रहरीलाई प्रभावित गर्न खोजेको तर माथिल्लो तहमा खबर गरेर सामान समातिएको हो’, उनले भने, ‘तस्करी गर्न लागेको समान प्रहरीले बरामद गरेपछि उनीहरूले खाली आरोप लगाएका हुन्।’
ड्युटी बसेकै अवस्थामा सेटिङ! 
सीमा क्षेत्रमा ड्युटी बसेको प्रहरीले तस्करसँग तुरुन्तै सेटिङ मिलाउने गरेको तस्करीको सामान ओसारपसार गर्नेहरूको भनाइ छ। भारतीय तस्कर रानाबाट  आइतबार राति सामान ल्याउन सशस्त्र प्रहरीले ४० हजार मागेकोमा ३० हजारमा ६ लाख मूल्यको सामान तराउन डिल भएको दाबी  गरिएको छ। रानाले बिष्ट थरका दुई जना प्रहरीलाई आफैंले भेटेर नगद थमाएको जिकिर गरेका छन्।

तर तस्करीको सामान सशस्त्रको गस्ती टोलीले बरामद गरेपछि प्रहरीलाई बदनाम गर्न निराधार आरोप लगाइएको सीमा सुरक्षा बल धनगढी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको दाबी छ। उनले सामान समातेपछि तस्कर समूहले झुठो लान्छना लगाएको बताए। मादक पदार्थ सेवन गरेर सशस्त्र प्रहरीको गस्ती टोलीका बिष्ट थरका व्यक्तिले सामान ओसारपसारमा संलग्न ६ जना नेपाली महिलालाई कुटपिट समेत गरेका छन्। कुटाइ खाने एक जनाको हातको हड्डी समेत भाँचिएको छ। तस्करको भने सेटिङका लागि दिएको ३० हजारसँगै ६ लाख २० हजारको सामान डुबेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस