सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रमीकहरुकै मन जित्न सकेन

२०७६ असार ५, ११:४९ जनक विष्ट

कैलालीमा स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बजेट खर्च गर्ने मेसो मात्र बनाएपछि प्रतिफल प्राप्त हुनेमा आशंका थपिएको छ। स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि परेका आवेदन छनौट गरी नगर क्षेत्रको नाली सफाई, माटो भरान, कुलो खन्ने, वृक्षारोपण जस्ता काम गरिरहेका बेला दीगो प्रतिफल दिनेमा स्वयंम कामदार नै विश्वस्त नरहेको पाईएको हो।

कैलालीको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का युवा नरदीप धामीले  प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा संयोजकको जिम्मेवारी पाएका छन्। कार्यक्रम अन्तरगत वडा नम्बर ११ का कामदारको नेतृत्व गर्ने गरी संयोजकको जिम्मा पाएका धामीले आफ्नो समूहसंगै अहिले कुलो खन्ने काम गरिरहेका छन्।

अध्ययनका हिसाबले कम्प्युटर अपरेटर भएका धामीलाई स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्य अनुसार कार्यान्वयन नभएपछि राज्य र युवाहरुले दीगो प्रतिफल प्राप्त नहुने लागेको छ। उनले कार्यगत सीप र दक्षताको आधारमा कामको बाडफाड नगरी कार्यान्वयन भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले उद्देश्य प्राप्त नगर्ने बताए।

वेरोजगारलाई रोजगार बनाउने उद्देश्य सहित सञ्चालनमा ल्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रम आर्थिक वर्षको अन्तमा आएर बजेट सक्ने मेसो मात्र बनाएको आरोप पनि कामदारहरुले नै लगाएका छन्। उनीहरुले नाली सफाई गर्ने, खन्ने, कुलो खन्ने, वृक्षारोपण तथा माटो भरान जस्ता काम दिएर स्थानीय तहले  बजेट मात्र खर्च गरिरहेको आशंका गरेका छन्।

बेरोजगारी समस्याका कारण मात्र आफूहरुमा भएको सीप र दक्षताको वास्ता नगरी दिईएका काम गर्नुपर्ने बाध्यतामा पुगेका युवायुवतीहरुले व्यक्तिगत सीप र क्षमता पनि बृद्धि विकास नहुने धारणा व्यक्त गरेका छन्।  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत छनौट भएर तालमा माटो भर्ने र खन्ने काम गरिरहेकी  धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की महेश्वरी रानाले सीप अनुसारको काम पाउनेमा आशा गरिएको भएपनि नपाउँदा निराश भएको बताईन्।

उनले आफूमा फरक किसिमको सीप भएपनि बेरोजगारी समस्याले प्रधानमन्त्री रोजगार कार्यक्रममा जस्तो सुकै काम दिएपनि गर्न बाध्य भएको उनले बताईन्। सीप र कार्यगत दक्षता नभएका बेरोजगारलाई पनि प्रधानमन्त्री कार्यक्रम मार्फत आन्मनिर्भर बनाउनुपर्ने बेला हातमा सीप भएकाहरु नै उचित स्थान नपाउँदा निराशा थपिएको गुनासो गरेका छन्।

प्राय जसो समान्य जीवनमा गर्दै आएका काम नै लगाएर प्रधानमनत्री रोजगार कार्यक्रम कार्यान्वयन गर्नुभन्दा हरेक वेरोजगार व्यक्तिलाई स्वरोजगार बनाउने गरी अगाडी बढाउन सुझाव पनि दिईएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नै धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा ताल संरक्षणका लागि माटोको ड्याम बनाउने काममा खटिएकी निर्मला चोखालले दीगो प्रतिफल दिने काम नपाउँदा निराश बनाएको बताईन्।

स्थानीय स्तरमा बेरोजगार रहेकाहरुलाई विकास निर्माणका सीप युक्त काममा लगाएर रोजगार बनाउने महत्वकांक्षी लक्ष्य सहित लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा खासै ठुलो महत्व नराख्ने काम गराउँदै पारिश्रमीक दिन थालेपछि राज्यलाई आर्थिक भार बढेपनि प्रतिफल नमिल्ने देखिएको छ। तर स्थानीय तहमा खडा गरिएका रोजगार केन्द्रहरुले भने चालु आर्थिक वर्षमा समय छोटो भएकाले व्यक्तिको कार्यगत दक्षता र सीप अनुसारको काम दिन नसकिएको बताउँदै आएका छन्।  

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस