सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सञ्चालित सहकारीहरुले गरे झण्डै २ अर्ब ऋण लगानी, कति छ बचत?

२०८१ कार्तिक ४, ०६:४३ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरभित्र सञ्चालित सहकारीहरुले झण्डै २ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ सम्म उपमहानगरभित्र सञ्चालित सहकारीहरुले झण्डै २ अर्ब कर्जा लगानी गरेको पाइएको हो। उपमहानगर क्षेत्रभित्र एक सय ११ वटा सहकारी संस्था सञ्चालनमा छन्। ती सहकारी संस्थाहरुले गत आर्थिक वर्ष दुई अर्ब ६ करोड ८७ लाख ३० हजार ९६५ रुपैयाँ निक्षेप संकलन गरेका छन्।

२५ वटा बचत तथा ऋण सहकारी, १८ वटा बहुउद्देश्यीय सहकारी, ५८ वटा कृषि सहकारी, आठवटा ग्रामिण विद्युत सहकारी र एक/एकवटा दुग्ध र उपभोक्ता सहकारी गरेर धनगढीमा एक सय ११ वटा सहकारी संस्था सञ्चालनमा रहेको उपमहानगरपालिकाको अभिलेख छ।

ती सहकारीहरुले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ९९ करोड ४३ लाख ८४ हजार ६३१ रुपैयाँ ऋण लगानी गरेका छन्। ५३ करोड ५५ लाख ८५ हजार ८८ रुपैयाँ शेयर पूँजी भएका उक्त सहकारीहरुले एक अर्ब ९९ करोड ४३ लाख बढी ऋण लगानी गरेका हुन्। आर्थिक वर्ष २०७९/८० मा ५२ करोड ६ लाख ७८ हजार ७८ रुपैया शेयर पुँजी रहेका सहकारीहरुले गत आर्थिक वर्ष थप पुँजी बढाएका छन्।

उपमहानगरभित्र सञ्चालित सहकारीहरुले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब एक करोड ७५ लाख ८१ हजार ४३६ रुपैयाँ ऋण लगानी गरेका थिए। उपमहानगरभित्र सञ्चालित सहकारीहरुले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब सात करोड ३१ लाख ६७ हजार २८६ रुपैयाँ निक्षेप संकलन गरेकोमा गत आर्थिक वर्ष भने घटेर २ अर्ब ६ करोड ८७ लाख ३० हजार ९६५ रुपैयाँमा सिमित बन्न पुगेको छ।

सहकारीमा सदस्यहरुको संख्या भने बढेको छ। आर्थिक वर्ष २०७९/८० मा ३० हजार ५९ सदस्य रहेकोमा गत आर्थिक वर्ष बढेर ३१ हजार ८८२ पुगेको हो। धनगढीमा सञ्चालित सहकारीमा २४१ जना कर्मचारी रहेको पाइएको छ। धनगढीमा महिलाले मात्र सञ्चालन गरेका ११ वटा सहकारी छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस