सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ

२०८१ कार्तिक २, ०३:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाइएको छ। जिल्लाको बेलौरी नगरपालिका–४ को कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको हो।

वडाको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउन लागेको वडाध्यक्ष अर्जुन ढकालले बताए। वडाभित्रका ६८ वर्षदेखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकमध्ये २५ जना ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा लगिएको उनले बताए। मुस्ताङमा रहेको मुक्तिनाथसम्मका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष ढकालले बताए।

तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता छ। शुक्रबार दिउँसो बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले उक्त टोलीलाई तीर्थयात्रा सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। गत वर्ष ३० जना ज्येष्ठ नागरिकलाई पशुपतिनाथ लगायतका विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइएको थियो।

कमेन्ट लोड गर्नुस