सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

२०८१ कार्तिक २, ०८:२४

काठमाडौंः हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले पुष्टि गरेको छ।

इजरायली सेनाको सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा सिनवार मारिएका हुन्। सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन्। इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवारको मृत्यु भएको हो। सिनवारले सन् २०१७ देखि हमासको सैन्य समूहको नेतृत्व गरिरहेका थिए।

गत वर्षको ७ अक्टोबरमा इजरायलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा सिनवार रहेको बेलायत, अमेरिका र इजरायलले जनाएका छन्। ७ अक्टोबरको हमलामा इजरायलमा झण्डै १२ सय जना मारिनुका साथै २ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाइएको थियो। गाजामा हमास विरुद्धको युद्धमा याह्या सिनवारको हत्या इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो।

सिनवारको मृत्यु हमासको लागि भने गम्भीर धक्का लागेको छ। उनी योजनाबद्ध विशेष सैन्य कारवाहीमा मारिएका नभई दक्षिणी गाजाको रफाहमा इजरायली सेनासँगको अपर्झटको भिडन्तमा मारिएका हुन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सैनिकको प्रशंसा गर्दै जतिसुकै ठूलो जित भए पनि यो युद्धको अन्त्य नभएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस