सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा संगठित रुपमै मोटरसाइकल चोरी, पाँच जना विरुद्ध जाहेरी

२०८१ असोज २९, ०७:१६ कमल सावद

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बण्डका धनबहादुर विष्टको घरबाट नयाँ मोटरसाइकल चोरी भयो।

२०८१ भदौ ९ गते खरिद गरिएको टिभीएस कम्पनीको १६० सिसीको मोटरसाइकल यातायात कार्यालयमा रजिष्टेशन नहुँदै भदौ २५ गते घरबाटै चोरी भएको हो। मोटरसाइकलमा आएका चार÷पाँच जनाको समूहले घरमा राखिएको मोटरसाइकल चोरी गरेका हुन्। कृष्णपुर नगरपालिकाको बण्डबाट चोरी भएको मोटरसाइकल पुनर्वास नगरपालिका–५ आइबीआइडी बजारमा यही असोज २३ गते फेला परेको हो।

चोरीको मोटरसाइकलमा सुदूरपश्चिम प्रदेश ०१–०११ क ९११२ नम्बर राखिएको थियो। प्रहरीको सहयोगमा मोटसाइकल नियन्त्रणमा लिइएको छ। मोटरसाइकल धनी धनबहादुर विष्टले घरबाटै चोरी भएको बताए। उनले भने, ‘भदौ २५ गते राति मोटरसाइकल घरबाट चोरी भयो। घरमा पार्किङ्ग थियो। नक्कली चाँबी थियो। मोटरसाइकलको लक रडले खोलेको छ। उनीहरु मास्क लगाएर आएका छन्।

चार/पाँच जनाको समूह छ। इलाका प्रहरी कार्यालय, झलारीमा निवेदन दिएका छौँ।’ बण्ड, कलुवापुर, दैजी र वन्साहबाट पनि मोटरसाइकल चोरी भएका थिए। विष्टले भने, ‘यिनीहरुको संगठित रहेछ। अलग–अलग मोटरसाइकल, अलग–अलग व्यक्तिको घरमा लुकाइ राखिएको, कुनै मोटरसाइकल बिक्री भएको पाइएको छ। लक तोडेको रडहरु बरामद गरेका छौ। हामीले प्रमाण राखेका छौ। तिनीहरुको संगठन छ। कैलाली र कञ्चनपुरका छन्।

हामीले सबैको विरुद्धमा किटानी दिएका छौ।’ कञ्चनपुर प्रहरीमा मोटरसाइकल चोरी गर्ने पाँच जना विरुद्ध डाँका चोरी तथा साङ्गठनीक अपराधमा जाहेरी दर्ता गरिएको छ। पुनर्वास नगरपालिका–१० विकास वस्तीका २२ वर्षीय महेश राना, सोही ठाउँका २८ वर्षीय होसियार राना, २३ वर्षीय कृष्ण राना, बेलौरी नगरपालिका–३ का निरज राना र कैलालीको धनगढी उपमहानगरपालिका–७ का २२ वर्षीय गोविन्द राना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० विपरीत तथा सांगठनीक अपराध निवारण ऐन, २०७० विपरीत कसुर गरेको भन्दै डाँका चोरी र संगठित अपराध गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ।

कृष्णपुर नगरपालिका–१ बण्डका धनबहादुर विष्ट र वेदकोट नगरपालिका–३ का विरेन्द्रबहादुर महरले छुट्टाछुट्टै रुपमा जाहेरी दिएका छन्। धनगढी उपमहानगरपालिका–७ मनहेराका गोविन्द राना मुख्य अभियुक्त र अन्य सहयोगी घटनामा सङ्लग्न हुने गरेको भन्दै जाहेरी दर्ता गरिएको छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० विकास वस्तीमा रहेका कृष्ण राना, महेश राना लगायतका घरमा लुकाउने गरिएको आरोप छ।

उनीहरुले योजना तयार पारेर मोटरसाइकल चोर्ने काम गर्दै आएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले तीनवटा मोटरसाइकल र दुई जना पक्राउ परेको बताए। उनले भने, ‘जाहेरी आएको छ। हामीले तीनवटा मोटरसाइकल बरामद गरेका छौ। दुई जना पक्राउ परेका छन्। केही फरार पनि छन।’ धनगढी उपमहानगरपालका–४ बाट भदौ १३ गते २२० सिसीको बजाज कम्पनीको सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको मोटरसाइकल, असोज ११ गते कञ्चनपुरको वेदकोट नगरपालिका–३ बाट आरटीआर २०० सिसीको सुदूरपश्चिम प्रदेश ०१–०११ प २९८१ नम्बरको अपाच्ची, शुक्लाफाँटा नगरपालिकाबाट सेतो रंगको पल्सर, धनगढी–६ बाट बजाज कम्पनीको एनएस, फूलबारीबाट एमाहा कम्पनीको मोटरसाइकल सोही समूहले चोरी गरेको आरोप समेत छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस