सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनसान बनेको धनगढी सहरमा बढ्न थाल्यो चहलपहल

२०८१ असोज २८, ०६:३९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्य सहर कैलालीको धनगढीमा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन सोमबारबाट पुनः बढ्न थालेको छ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा आइतबारको तुलनामा सोमबार चहलपहल बढेको हो। तर विभिन्न स्थानमा सोमबार पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंमा सुनसान देखिएका प्रदेशको अस्थायी राजधानी धनगढी र स्थायी राजधानी घोषणा गरिएको गोदावरी (अत्तरिया) का सडकहरूमा सवारीसाधनको सङ्ख्या विस्तारै बाक्लिन थालेको छ। 

सोमबार धनगढी, अत्तरिया, टीकापुर र उता कञ्चनपुरको महेन्द्रनगरका सडकमा निजी सवारीसाधन बढी देखिएका छन्। दशैं अवधिमा छिटपुट बाहेकका ठूला सवारी दुर्घटना नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दशैंको अवधिमा दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने २५ जना सामान्य घाइते भएका छन्। सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। 

लामो तथा छोटो दुरीका यात्रुवाहक सवारीसाधन छिटपुट रुपमा मात्र चलेका थिए। सो अवधिमा सडक खाली भएपछि तीव्र गतिमा मोटरसाइकल हुँइकाईनुका साथै कतिपयले मदिरा समेत सेवन गरेर चलाएका कारण दुर्घटना हुन पुगेको बताइएको छ। अहिले भने सुदूरपश्चिममा सहरी क्षेत्रका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रुपमा बढ्न थालेको छ। दशैंका लागि पहाड गएकाहरु पनि तराई झर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस