कञ्चनपुरको भीमदत्त र बेदकोटमा पर्यावरण संरक्षण कार्यक्रम
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा चुरे सरक्षण सञ्जाल नेपालले नगरपालिकाका क्षेत्रमा पर्यावरण संरक्षणका कार्यक्रम गर्न थालेको छ।
विगत डेढ दशकदेखि वातावरण संंरक्षणका कार्यक्रम गर्दै आएको चुरे संरक्षण सञ्जालले भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रमा पर्यावरण संरक्षणका कार्यक्रम गर्न लागेको हो। चुरे संरक्षण सञ्जाल नेपालले दशैं लगत्तै दुवै नगरपालिकामा तटबन्ध सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ। चुरे संरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापक करन भट्टले तराई भूपरिधि कार्यक्रममार्फत वातावरण संरक्षणका कार्यक्रम गर्न लागेको बताए।
उनका अनुसार भीमदत्त–७ हल्दुखाल चुरे भएर बग्ने खन्यखोलाको भङगालो केरा बारी टोलमा जैविक तटबन्ध निर्माणका कार्यहरु गरिने छ। यस्तै बेदकोट–२ जडेपानी पथरिया नालामा पनि जैविक तटबन्ध निर्माणका कार्य गरिनेछन्। चुरे वनमा चोरी शिकारी नियन्त्रणका लागि भीमदत्त र बेदकोटमा चोरी शिकारी नियन्त्रण समूह गठन गरिने छ। साथै सामुदायिक विद्यालयमा ईगो क्लब पुर्नगठन गरेर विद्यार्थीहरुमा संरक्षणका कार्यक्रम गरेरसमेत सचेत गराइने छ।
त्यसैगरी व्यवस्थापक भट्टले वन हेरालुलाई उक्त कार्यमा सहयोगसमेत गर्ने बताए। तराई भूपरिधि कार्यक्रमका प्रतिनिधि शेरबहादुर चौधरीले मानव अधिकार र वातावरण सुरक्षा अनुरुप कार्यक्रम सञ्चालनमा जोड दिएका छन्। उनले समुदायको हितका साथै वन पर्यावरण संरक्षण गर्नुपर्ने बताए। जनप्रतिनिधिले समेत साझेदारीमा सञ्चालन हुने कार्यक्रम प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्।
बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले चुरे संरक्षण सञ्जालले यसअघि पनि आफ्नै वडाको पत्थरिया नालामा निर्माण गरिएको तटबन्धको कार्यलाई अझै थप गर्नुपर्ने बताए। त्यसैगरी ब्रम्हदेब सव–डिभिजन वन कार्यालयका रेञ्जर जीवन भण्डारीले चुरे संरक्षण सञ्जालले गरिरहेका कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुगिरहेको बताउँदै थप निरन्तरतामा जोड दिएका छन्।