दशैं हुनेहरुको घरमा विजया दशमी हर्षोल्लासका साथ मनाइयो
धनगढीः आज (शनिबार) अर्थात बडादशैंको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीकार समृद्धिको प्रतीक जमरा लगाइएको छ।
सुदूरपश्चिम प्रदेशमा पनि दशैं हुनेहरुको घरमा बडा दशैं हर्षोल्सासका साथ मनाइएको छ। पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद बडा दशैंको मुख्यदिन मान्यजनबाट लगाइएको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले टीकाका लागि साइत खोज्नु नपर्ने धर्मशास्त्रीहरुले बताएका छन्। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइको हो। कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ।
जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ। जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले बडा दशैंको दिन मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो। त्रेता युगमा बडा दशैंकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।
यसैले बडा दशैंको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ। बडा दशैंको मुख्य दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ। अधिकांश स्थानमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिने चलन समेत छ।