सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

२०८१ असोज २४, ०२:२२

समाचार एजेन्सीः भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका पूर्वअध्यक्ष रतन टाटाको निधन भएको छ।

टाटाको मुम्बईस्थित एक अस्पतालमा बुधबार राति ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन्। उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले भारतले पूँजी वृद्धिलाई देशनिर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यावसाययी गुमाएको बताएकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरगामी व्यवसायी र एक असाधारण तथा दयालु व्यक्तिको रुपमा सम्झिएका छन्। उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गरे, मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले उनलाई सन् २००० मा प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो। टाटा समूह भारतको सबैभन्दा ठूलो गाडी निर्माण तथा सबैभन्दा ठूलो निजी स्टील कम्पनी हो। टाटा अन्तर्गतका कम्पनीहरूले विश्वव्यापी रूपमा ३ लाख ५० हजारभन्दा बढी मानिसहरूलाई रोजगारी दिन्छ।

जुन २००८ मा टाटाले २.३ अर्ब डलरमा फोर्डबाट ज्यागुआर र ल्यान्डरोभर किनेको थियो। टाटाले १९३२ मा भारतमा व्यावसायिक उडान सुरु गरेको थियो। पछि एयर इन्डियाका रूपमा सञ्चालित कम्पनीलाई सरकारले नियन्त्रणमा लियो। तर टाटा समूहले २०२१ मा सरकारी स्वामित्वको एयर इन्डिया किन्यो। कम्पनीले सिंगापुर एयरलाइन्ससँग सुरु गरेको पूर्ण–सेवा वाहक, विस्तारालाई हालै एयर इन्डियासँग गाभेको थियो। टाटा कम्पनीहरूमा टाटा स्टील, टाटा मोटर्स, टाटा पावर र सूचना प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस समावेश छन्।

कमेन्ट लोड गर्नुस