सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जुवाखालबाट पक्राउ परेका ११ जना प्रहरी हिरासतमा

२०८१ असोज २४, १०:५७ खबर संवाददाता

धनगढीः कैलालीमा ११ जना जुवाडे जुवाखालबाटै पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ मा रहेको न्यु साउँद होटलभित्र जुवातास खेलिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै गोदावरी नगरपालिका–२ तेघरस्थित सामुदायिक वनको जंगलमा जुवाखेलिरहेकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी नायव निरीक्षकको कमाण्ड र तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराधन अनुसन्धान समुहबाट खटिएको संयुक्त प्रहरी टोली दुबै स्थानबाट ११ जना जुवाडेलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा पुगाइएको छ।

जुवाखालबाट एक लाख चार हजार ८९४ नगद र ७ गड्डी ताससहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। गौरीगंगा नगरपालिका–गोप्काका ३४ वर्षीय टेकबहादुर बुढा, माघी बस्ने ४० वर्षीय पदमबहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल, ४१ वर्षीय टंक साउँद, ५४ वर्षीय बड्डो भुल र ४२ वर्षीय बलबहादुर भुल जुवाखालबाटै पक्राउ परेका छन्।

यस्तै गोदावरी नगरपालिका–२ तेघरीका ४१ वर्षीय जगुराम चौधरी, २२ वर्षीय आदर्श पाल, गोदावरी–४ का ४० वर्षीय मुकेश अर्याल, अर्घाखाँची छत्रदेव गाउँपालिका–२ बलकोटका ४० वर्षीय दिलिप केसी गरेर जुवाखालबाट ११ जना पक्राउ परेको प्रहरी नायव उपरीक्षक बोहराले बताए।

कमेन्ट लोड गर्नुस