सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा दशैंतिहार लक्षित प्रदर्शनी बजारमाथि प्रतिबन्ध!

मन्त्री आउने कार्यक्रम स्थगित

२०८१ असोज २२, ०१:१८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा दशैंतिहार लक्षित प्रदर्शनी बजारमाथि नै प्रतिबन्ध लगाउने काम भएको छ।

जग्गा भाडामा लिएर ‘यसपालिको दशैं–तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ चिटिक्क पारिएको प्रदर्शनी बजार सञ्चालनमा नआउँदै प्रतिबन्ध लगाउने काम भएको हो। आज (मंगलवार) देखि सुदूरपश्चिम प्रदेशमा उत्पादित वस्तुहरूको विक्रीवितरण प्रवर्द्धन गर्न प्रदर्शनी बजार सुरु हुँदै थियो।

कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको संयुक्त आयोजनामा सुरु हुन लागेको प्रदर्शनी बजार सञ्चालनमा केही व्यवसायीहरुबाटै विरोध भएको छ। साथै प्रदेर्शनी बजार सुरु हुनुअगावै मुल गेट र केही स्टलमा तोडफोड समेत गरिएको छ।

गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोड नजिकै जग्गा भाडमा लिएर आयोजना गरिन लागेको प्रदेर्शनी बजार सञ्चालन यो समाचार तयार पार्दासम्म अवरोध कायमै छ। यस्तो बजार सञ्चालन गर्न आयोजकले सम्वन्धित निकायबाट अनुमति समेत लिइसकेको छ। गोदावरी नगरपालिकाले समेत प्रदेर्शनी बजार सञ्चालन गर्न अनुमति दिइसकेको छ।

No description available.

तर मेयर बिरेन्द्र भट्टले नै अहिलेलाई बजार सञ्चालन नगर्न भन्दै असयोग गरेको आयोजकको गुनासो छ। तर नगरपालिका आफैले बजार सञ्चालन गर्न लिखित रुपमै सहमति दिइसकेको अवस्थामा मेयर भट्टले तत्काल काम स्थगित गर्न भनेपछि आयोजक चकित बनेको छ। यस विषयमा मेयर भट्टसँग बुझ्न खोज्दा उनको फोन उठेन्। प्रदर्शनी बजार सञ्चालनमा कुनै अवरोध सिर्जना नभएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए।

चाडपर्व लक्षित बजार प्रदर्शनीमा उद्योग वाणिज्य संघले कुनै अवरोध नगरेको उनको तर्क छ। ‘उद्योग वाणिज्य संघले यस्तो काममा कुनै अवरोध गर्दैन र गर्नेवाला पनि छैन।’ प्रदर्शनी बजारको उद्घाटन संघीय सरकारका उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम थियो। तर स्थानीय सरकार र केही व्यापारीबाट विरोध भएपछि तत्कालका लागि मन्त्री आउने कार्यक्रम समेत स्थगित भएको छ।

अहिले बजार सञ्चालनको विषयमा छलफल जारी रहेको आयोजकले बताएको छ। प्रदेर्शनी बजारमा यस क्षेत्रमा उत्पादन भएका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादनदेखि नौवटै जिल्लामा उत्पादित परम्परागत सामाग्री, खाद्यान्न लगायत स्टल राखिएको छ। स्टलहरु निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइएको छ। कार्तिक १७ गतेसम्म सञ्चालन हुने गरी प्रदर्शनी बजार र सुदूरपश्चिमका उत्पादकसँग बहस समेत गर्ने कार्यक्रममाथि अबरोध सिर्जना भएपछि आयोजक र स्टल राखेका व्यवसायी निरास बनेका छन्।
 

कमेन्ट लोड गर्नुस