सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका विभिन्न सहरबाट ३१ सय ४९ जना एकैदिन सुदूरपश्चिम भित्रिए

२०८१ असोज २१, ०६:२४ खबर संवाददाता

धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएयता भारतका विभिन्न सहरबाट सुदूरपश्चिम भित्रिनेको संख्या बढ्न थालेको छ।

आइतबार एकैदिन तीन हजार एक सय ४९ जना भारतका विभिन्न सहरबाट सुदूरपश्चिम भित्रिएका छन्। नेपाल–भारत सीमा नाका हुँदै चाडपर्व बनाउन स्वदेश फर्किनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीको गौरीफन्टा नाका भएर एक हजार ६ सय ३९ जना स्वदेश फर्किएका छन्।

कैलालीपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर सबैभन्दा बढी सुदूरपश्चिम भित्रिएका छन्। गड्डाचौकी नाकाबाट एक हजार २ सय ३५ जना भित्रिएका छन्। खकरुला हेल्थ डेस्क २ सय, झुलाघाट नाका बैतडीबाट ४५ र पुलघाट नाका दार्चुलाबाट ३० जना घर फर्किएका छन्।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालक केन्द्रले संकलन गरेको विवरण अनुसार पछिल्लो एकसातायता भारतका विभिन्न सहरबाट सुदूरपश्चिम भित्रिनेको संख्या बढ्दै गएको छ। त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले चेकजाँच गर्दै आएको छ। ठाउँठाउँमा हुने अनावश्यक चेकजाँचका कारण भारतबाट चाडपर्व मनाउन घर फर्किरहेका श्रमिकलाई भने सास्ती हुने गरेको छ।

कमेन्ट लोड गर्नुस