सुदूर नेपाललाई विश्वसँग जोड्दै

सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती

२०८१ असोज २१, ०४:४२ रासस

कञ्चनपुरः कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ।

थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्। मादलको तालमा कम्मर मर्काउँदै थारु युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन्। युवाहरुले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्। स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए।

थारु समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उनले बताए। नृत्यमा सहभागी युवतीले भगवान श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउँने गरेका छन्। गाउँका भद्रभलादमी, वडघर, गुरुवा, केसौका लगायतको बैठक बसेर सखिया नाचको व्यवस्थापन गर्ने गरिएको छ।

गुरुवाले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउन पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिने थारु अगुवा चेतराज चौधरीले बताए। सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणीक नृत्य अष्टमीको रातभरी आयोजना गरिन्छ।

पञ्चमीको दिनअघि सादा पोसाकमा नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्। मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गरिन्छ। अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ। 

दसैँपछि गाँउमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको स्थानीय फुलराम चौधरीले बताए। धार्मिक मान्यताअनुरूप यो नाच आयोजना गरेमा गाँउमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको छ। थारु समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको थारु अधिकारकर्मी हवलदार चौधरीले बताए। लवाइखवाइ र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ। हाल यस्तो सीप थोरै महिलासँग भएकाले पुस्तान्तरण हुनसकेको छैन।
 

कमेन्ट लोड गर्नुस