सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा जम्न थाले जताजतै जुवाखाल, सातादिनमै ५७ जना पक्राउ

२०८१ असोज २१, १२:१८ खबर संवाददाता

धनगढीः दशैं सुरु भएयता जताजतै जुवाखाल जम्न थालेको छ।

सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा जुवातास खेल्ने र खेलाउने समुह सक्रिय बनेका छन्। होटल, कतिपय संघसंस्थाका कार्यालय एवं घरमा समेत जुवा खेल्ने र खेलाउने समुह सक्रिय भएर लागेको पाइएको छ। एक साताको अवधिमा कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ५७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई जुवाखालबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

कैलालीको जानकी गाउँपालिका–२ बढरियास्थित धनबहादुर थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा ५४ वर्षीय जगत साउदसहित ९ जना जुवाडे शुक्रवार पक्राउ नै परेका छन्। २१ हजार ७ सय ५ र ३ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

विहिबार पनि लम्कीचुहा नगरपालिका–२ मोतिपुरस्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। यसअघि २१ जना जुवाखालबाट पक्राउ परेका थिए। धनगढी उपमहानगरपालिका–७ भानु चोकस्थित बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन्।

धनगढी–७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी पक्राउ परेका थिए। यस्तै धनगढी–७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी पनि जुवाखालबाटै पक्राउ परेका हुन्। उता गोदावरीमा पनि जुवाखालबाट ९ जना नगदसहित पक्राउ परेका थिए।

गोदावरी नगरपालिका–१ विजयनगरमा केशरसिंह गुरुङको घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका हुन्। गोदावरी नगरपालिका–१ का ६६ वर्षीय घरधनी गुरुङ, ४२ वर्षीय निरज शाह, ४१ वर्षीय खगेन्द्र योगी, गोदावरी–२ का ४० वर्षीय बुद्धी सापकोटा, ३७ वर्षीय नरेश रोकाया, ६३ वर्षीय मिनप्रसाद सिरिस, ४० वर्षीय मानबहादुर ऐरी, वडा नम्बर ४ का ५४ वर्षीय धिर्कबहादुर बम र ४० वर्षीय विजय चौधरी पक्राउ परेका हुन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो। उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीमा अमरसिंह कुवँरको बाझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१४ का ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणिराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर पक्राउ परेका हुन्।

यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरका ४२ वर्षीय जगतबहादुर धामी, भीमदत्त नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाटा नगरपालिका–३ का ३४ वर्षीय दिपक बोहरा, यता धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय पदम भाट, धनगढी–७ का २९ वर्षीय गौतम बिष्ट, गौरीगंगा नगरपालिका–४ का ४५ वर्षीय जगतबहादुर धामी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद एक लाख ६ हजार ४७० र ५६ पत्ती ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। यसअघि कञ्चनपुरकै दोधरा–चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। दोधरा–चाँदनी नगरपालिका–४ का ४९ वर्षीय मोहनबहादुर सिंहसहित ६ जना पक्राउ परेका हुन्।

कमेन्ट लोड गर्नुस