सुदूरपश्चिममा १२३ महिलासहित १८ सय २२ पुरुष लागुऔषधसहित पक्राउ
तीन वर्षमा उमेरअनुसार पक्राउ परेकाहरुको विवरण
धनगढीः सुदूरपश्चिममा लागुऔषधसहित १८ सय २२ जना पक्राउ परेका छन्। तीमध्ये एक सय २३ महिला हुन्।
आर्थिक वर्ष २०७७/७८ मा १८ महिला र तीन सय ६७ पुरुष, आर्थिक वर्ष २०७८/७९ मा २६ महिला र पाँच सय ४२ पुरुष तथा आर्थिक वर्ष २०७९/८० मा ७९ महिला र ७ सय ९० पुरुष अभियुक्त लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीबाट पक्राउ परेका छन्। कैलालीबाट आर्थिक वर्ष २०७७/७८ मा एक सय ३२ जना पक्राउ परेकामा ९१ जना विरुद्ध मुद्दा नै दर्ता गरिएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा तीन सय १५ जना पक्राउ परेकामा २ सय १ र आर्थिक वर्ष २०७९/८० मा पाँच सय २२ जना पक्राउ परेकामा तीन सय ४८ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। कञ्चनपुरमा २०७७ मा २ सय ३० जना पक्राउ परेकामा एक सय ४१, २०७८ मा २ सय ३९ जना पक्राउ परेकामा एक सय ४३ र २०७९ मा २ सय ९३ जना पक्राउ परेकामा एक सय ५९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
डडेल्धुरामा २०७८ मा तीन र २०७९ मा १३ जना पक्राउ परेका थिए। डोटीमा १३, अछाममा १३, बझाङमा १०, बाजुरामा ७, बैतडीमा २७ र दार्चुलामा २० जना लागुऔषधसहित पक्राउ परेका छन्। सो अवधिमा एक सय १६ महिला पक्राउ परेका छन्।
१० देखि १५ उमेर समुहका ७१, १६ देखि २० वर्षसम्म उमेर समुहका पाँच सय ८३, २१ देखि २५ उमेर समुहका चार सय ९४, २६ देखि ३० वर्ष उमेर समुहका तीन सय ५०, ३१ देखि ४० वर्ष उमेर समुहका एक सय ७१, ४१ देखि ५० वर्ष उमेर समुहका एक सय एक र ५१ देखि ६० वर्ष उमेर समुहका ५२ जना लागुऔषधसहित पक्राउ परेको प्रहरीको अभिलेख छ। तीमध्ये कृषि पेशामा आवद्ध चार सय ६९, चालक–सहचालक ९४, ज्यामी–मजदुर चार सय १९, बेरोजगार तीन सय ३५, व्यापारी १२८, कर्मचारी २१, बैदेशिक रोजगारमा आबद्ध १८, गृहणी चार, शिक्षक २, विद्यार्थी २ सय ७५ र अन्य ५७ जना लागुऔषधसहित पक्राउ परेको पाइएको छ।