सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सवारी दुर्घटनामा ५६० जनाको मृत्यु, ११ सय ३९ गम्भीर घाइते

तीन वर्षे सवारी दुर्घटना विवरण

फाइल फोटो
फाइल फोटो
२०८१ असोज १९, ०९:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ५ सय ६० जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर एक हजार एक सय ३९ जना गम्भीर घाइते भएका छन्।

आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म मात्र एक हजार ८३ जना सवारी दुर्घटनमा परेर सामान्य घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ। सो अवधिसम्म एक हजार तीन सय १५ वटा सवारी दुर्घटना भएका छन्।

२०७७ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा एक सय ८७ जनाको मृत्यु भएको छ भने पाँच सय ८७ जना गम्भीर घाइते भएका छन्। पाँच सय ४ जना सामान्य घाइते भएका छन्। २०७८ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाले ज्यान गुमाएका छन्। ती सवारी दुर्घटनाबाट तीन सय ५५ गम्भीर र ६ सय ६ जना सामान्य घाइते भएको अभिलेख छ।

त्यस्तै २०७९ मा २ सय ५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा एक सय ७७ जनाको मृत्यु भएको छ। सो अवधिमा एक सय ९७ जना गम्भीर र २ सय ७३ जना सामान्य घाइते भएका थिए। तीन वर्षको अवधिमा ८८ वटा बस, ७८ ट्रक, ३० टिपर, एक सय ७५ ट्याक्टर, २ सय २८ कार र सबैभन्दा बढी मोटरसाइकल ९ सय ५२ तथा अन्य २ सय ७६ गरेर कुल एक हजार ७ सय ७७ सवारीसाधन दुर्घटनामा परेका छन्।

मादक पदार्थ सेवन गरेर ३०, चालकको लापरबाहीले एक हजार ९४, यान्त्रिक खराबी ९४, कमजोर सडक पूर्वाधारका कारण ५४ र अन्य कारण ८२ गरेर १३ सय १५ सवारी दुर्घटना भएका छन्। सो अवधिमा विहानको समयमा तीन सय १८, दिउँसो ४ सय ७८ र रातिको समयमा ५ सय १९ सवारी दुर्घटना भएको देखिएको छ। २५ वर्षमुनिका पाँच सय ५२ चालक, २५ देखि ४० वर्षसम्म पाँच सय ५१ र ४० देखि माथिका २ सय ४२ चालकले चलाएका सवारी दुर्घटनामा परेको पाइएको छ।

कमेन्ट लोड गर्नुस