सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेडिकल हब बन्दै धनगढी

२०७६ असार ३, ११:३९ जनक विष्ट

मेडिकल हबको रुपमा विकास हुदै गएको सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा स्वास्थ्य सेवा विस्तारको कामले अझै तिव्रता पाएको छ। कुनै बेला उपचारका लागि छिमेकी मुलक भारत धाउने गरेका सुदूरपश्चिमबासी अहिले नीजि क्षेत्रको प्रयासमा प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमै स्तरीय उपचार सेवा पाउन थालेका छन्। प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधार, प्रविधि र विशेषज्ञ सेवा विस्तारको कामले तिव्रता पाएको हो।

धनगढी व्यापारिक केन्द्र मात्र नभई स्वास्थ्य सेवाको उपलब्धताका हिसाबले पनि प्रमुख केन्द्र बन्दै गएको छ। प्रदेशका नौ वटै जिल्लाको रेफरल सेन्टरको रुपमा रहेको सेती अञ्चल अस्पताल सहित नीजि क्षेत्रको लगानीमा समेत अस्पताल खुलेसंगै विगतका भन्दा स्तरीय स्वास्थ्य सेवाको उपलब्धता धनगढीमै सम्भव भएको हो। धनगढी अहिले ठुलो लगानीमा माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपि अस्पताल, नोभा, नवजीवन, कैलाली अस्पताल, आशा, नवबुद्ध, सारथीले विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएका छन्।

पछिल्लो समय न्युरो, कार्डियो र क्यान्सर बाहेकका बिरामीको उपचार धनगढीमै सम्भव भएपछि स्वास्थ्य सेवामाथिको परनिर्भरता पनि कम हुदै गएको छ। यहाँका अस्पतालहरुले आन्तरिक व्यवस्थापन गर्दै थप स्तरीय सेवा प्रदान गर्ने तयारी गरेका छन्। केही दिन पहिले मात्र आईसियु सेवा सञ्चालन गरेको धनगढीको नवजीवन अस्पतालले २५ शैयाबाट स्तरोन्नती गर्ने प्रक्रिया अगाडी बढाएको छ।

अस्पतालका नसा तथा हार्डजोर्नी रोग विशेषज्ञ डाक्टर विदुरमणी ढकालले अस्पताललार्ई एक सय शैयामा स्तरबृद्धि गर्न आवश्यक प्रक्रिया सुरु गरिएको बताए भने एनआईसियु सेवा पनि विस्तार गरिरहेको जनाए। विगतमा सुदूरपश्चिममा सेती अञ्चल अस्पतालमा मात्रै आईसीयू र भेन्टिलेटर सुविधा रहेकोमा अहिले धनगढीको नवजीवन अस्पताल, माया मेट्रो अस्पताल, निर्सग हस्पिटलले पनि उक्त सेवा सञ्चालनमा ल्याएका छन् भने नीजि अस्पतालले पनि नवजात शिशु सघन उपचार कक्ष आईसियु, एनआईसीयू लगायतका थप उपचार सेवा विस्तार गर्ने योजना रहेको बताएका छन्। माया मेट्रो अस्पताल सञ्चालक समितिका अध्यक्ष धिरेन्द्र सावदले सिटी स्क्यान मेसिन जडान लगायतका उपचार प्रविधी थप गर्ने तयारीमा रहेको जनाए।  

धनगढीमा ठुला अस्पताल खुलेपछि स्तरीय सेवा विस्तारले तिव्रता पाएसंगै स्वास्थ्य सेवामाथीको परनिर्भरता पनि कम हुदै जाने विश्वास बढेको छ। प्रदेशका नौ वटै जिल्लाका बासिन्दा उपचारका लागि धनगढी पुग्ने गरेका छन्। तर मुटुरोग, क्यान्सर जस्ता प्राण घातक रोगहरुको उपचार सेवा भने धनगढीमा सम्भव नभएपछि  कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। यसै समस्यालाई दृष्टिगत गर्दै धनगढीका केही नीजि अस्पतालले त सेवा सुचारु गर्ने योजना बनाएका छन्।

कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले भौतिक संरचना सुधार गरी दशैँ अगाडी नै १० शैयाको आईसियु र एनआईसियु सेवा सञ्चालन गर्ने तयारीमा रहेको बताए। उनले प्रदेशमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध नभएको कुरालाई मध्यनजर गरी नेपाल मेडासिटी हस्पीटलसंगको सहकार्यमा चाडै उक्त सेवा पनि सञ्चालनमा ल्याउने तथा न्युरो सम्बन्धी सेवा पनि सुरु गर्ने योजना अस्पतालको रहेको उनी बताउछन्। 

अहिले सेती अञ्चल अस्पतालमै हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग, मानसिक रोग, नाक, कान घाँटी, बालरोग, दाँत, फिजिसियन र छाला रोग विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने न्युरो, कार्डियो र क्यान्सर लगायतका रोगको उपचारको उपलब्धता छैन्। अर्कोतीर सुदूरपश्चिममा वर्षेनी हुने दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। त्यसका लागि ट्रमा सेन्टरको टडकारो आवश्यकता रहेको सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढीमा नीजि क्षेत्रले पनि स्वास्थ्यमा ठुलो लगानी गरिरहेका बेला सरकारी सेवा सुधारका लागि खासै पहल नभएको आरोप लाग्दै आएको छ भने फितलो व्यवस्थापनले सेवा प्रभावकारी बन्न सकेको छैन्। तर प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले सरकारी अस्पतालमा भएका संरचनाको व्यवस्थापन गरी स्तरीय सेवा प्रदान गर्न सरकार गम्भीर रहेको बताए। उनले सुविधा सम्पन्न ट्रमा सेन्टरको व्यवस्थापन गर्ने र सरकारी अस्पतालको सेवा सुदृष्ढिकरण गर्नमा मन्त्रालय प्रतिवद्ध रहेको दावी गरे। 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस