सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य विज्ञान विश्व विद्यालयको ऐन निर्माण गर्न सभामुखसहित दुई मन्त्रीलाई ज्ञापन

२०८१ असोज १६, ०७:१४ कमल सावद

धनगढी : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन निर्माण गर्न सभामुखसहित दुई मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ। सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुधवार ज्ञापनपत्र बुझाएको हो।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो), सह–संयोजक आनन्द प्रसाद भट्ट, माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्यसहितको टोलीले सभामुख देवराज घिमिरे, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाइएको हो। समितिका सह–संयोजक भट्टले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन चाँडो निर्माणको दबाबका लागि ज्ञापन पत्र बुझाइएको बताए। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विधेयक रहेको बताएका छन्। सभामुख घिमिरेले समितिबाट प्रतिनिधि सभामा विधेयक चाँडो ल्याउन निर्देशन दिएको सङ्घर्ष समितिसँग बताएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट कैलालीको गेटामा नेपालकै पहिलो पटक चिकित्सक शिक्षाको विश्व विद्यालय सञ्चालन गर्न ऐन तयार हुने उनले बताएका समितिका सह–संयोजक भट्टले दिनेशखबरलाई बताएका छन्।

सङ्घीय मन्त्रीपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन हुन नदिने देश तथा विदेशबाट चलखेल हुँदै आएको माओवादी केन्द्रका केन्द्रीय सदस्य लछिराम आचार्यले बताए। उनले सो विषयमा समेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गरिएको बताए। गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ अर्बका संरचना निर्माण गरेको छ। शिक्षा मन्त्री भटराईले विश्व विद्यालय सञ्चालनको प्रक्रिया अगाडी बढेकाले नरोकिने बताइन। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट ऐन पारित हुने तर्क मन्त्रीले सङ्घर्ष समितिसँग गरेकी छन्।

तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न माग

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनार्थ सङ्घर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनको माग समेत गरेको छ। सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० शय्याको अस्पताल सञ्चालन गर्दै आएकोमा तीन सय शय्या तत्काल बनाउन माग गरिएको हो। सङ्घीय मन्त्रीपरिषद्बाट तीन सय शय्याको अस्पताल सञ्चालन र एमबीबीएसको अध्यापन सुरु गर्न सङ्घर्ष समितिले माग गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तीन सय शय्याको अस्पताल सञ्चालनको तयारीमा रहेको बताएका छन्। उनले मन्त्रीपरिषद्बाट जनशक्तिका लागि निर्णय गर्ने समितिसँग भनेका हुन। उनले गेटा अस्पतालको सेवा विस्तार हुने बताएका छन। सङ्घर्ष समितिले मङ्गलवार शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई ज्ञापन पत्र बुझाएको थियो।

स्वास्थ्य विज्ञानका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनका माध्यमले मुलुकको समृद्धिमा योगदान पुगाउन सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी थालेको हो। तर, राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक ८ महिनादेखि प्रतिनिधि सभाको समितिमा थन्किएको छ। स्वास्थ्य विज्ञानको क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापन र मानवस्रोत विकास गरी नागरिकलाई सहज, सुलभ र विशेषज्ञसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न ऐन निर्माणको प्रक्रिया थालेको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस