सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका भिरपाखा बन्दै महिलाका लागि ‘काल’

२०८१ असोज १४, ०१:०४ खबर संवाददाता

धनगढीः गत वर्ष भिरबाट लडेर बैतडीको दोगडाकेदार गाउँपालिका–१ गोरङकी १८ वर्षीया सुमिता बिष्टको मृत्यु भयो।

खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको हो। उनी स्थानीय श्री पञ्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्। गत वर्ष नै डोटीमा भिरबाट लडेर एक अर्की किशोरीको मृत्यु भयो। जिल्लाको बडीकेदार गाउँपालिका–५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर ज्यान गएको थियो।

केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत उनी बाख्रा चराउन गएकी थिइन। यस्तै बझाङको केदारस्युँ गाउँपालिका–८ रजाडाकी १७ वर्षीया हिउकला बोहरा, अछामको चौरपाटी गाउँपालिका–१ को देवल्छडा सामुदायिक वनमा घाँस काट्ने क्रममा १५ वर्षीया अमृता साउद र डोटीको शिखर नगरपालिका–१ की २१ वर्षीया अमिशा शाहीको पनि भिरबाट लडेरै मृत्यु भएको छ।

यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी सुदूर पहाडमा भिरबाट लडेर बालिका, किशोरी, युवती र विवाहित महिलाले अकालमै ज्यान गुमाउने गरेका घटना वर्षेनि बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा भिरबाट लडेर ६५ महिला र रुखबाट लडेर १५ जना महिलाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८/७९ मा २१, २०७९/८० मा २९ र २०८०/८१ मा ३० जना महिलाको लडेर मृत्यु भएको छ। सबैभन्दा बढी बैतडी, दार्चुला र अछाममा भिर र रुखबाट लडेर महिलाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस