सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कुलदेउता’का मन्दिर निर्माणमा सुदूरपश्चिम सरकारको एक अर्ब स्वाहा

२०८१ असोज १२, ०२:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले व्यक्ति विशेषका कुलदेवताको मठमन्दिर बनाउन झण्डै एक अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

थप २४ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ। पर्यटन प्रवद्र्धनका नाममा प्रदेश सरकारले समुदाय विशेषका मन्दिरमा करोडौँ बजेट खर्च गरिरहेका बेला पौराणिक महत्वका धार्मिक स्थल भने ओझेलमा परेका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ देखि गत आर्थिक वर्ष २०८०/८१ सम्म आफ्ना कुलदेउता खुसी पार्ने नाममा ठुलो रकम खर्च गरेको देखिएको छ।

आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष वर्ष २०७९/८० सम्म मात्र एक हजार तीन सय ६८ मन्दिर निर्माण गरेको उल्लेख छ। सो अवधिसम्म उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाईको तथ्यांकअनुसार प्रदेशभित्र एक हजार ६३ वटा मन्दिर निर्माण भइसकेका छन्।

धार्मीक, ऐतिहासिक एवं पौराणिक सम्पदामा बजेट विनियोजन गर्न नसकेको प्रदेश सरकारले आफ्ना कुल देउताको नाममा भने ठुलो रकम खर्च गरेको हो। आर्थिक वर्ष २०७५/७६ मा २९३, २०७६/७७ मा १४४, २०७७/७८ मा ३२०, २०७८/७९ मा ३०६ र आर्थिक वर्ष २०७९/८० मा २९५ मन्दिर निर्माण गरिएको छ।

धार्मिक पर्यटनको नामका बनाइएका यी मन्दिर पर्यटकीय स्तरका नभएर गाउँलेहरु पूजा गर्ने सामान्य खालका मन्दिर हुन्। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०८१/८२ सम्म प्रदेश सरकारले व्यक्ति विशेषका कुलदेवताका मन्दिर बनाउने नाममा एक अर्ब ५ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको पाइएको छ। सो रकममध्ये ८२ करोड खर्च भइसकेको छ भने चालु आर्थिक वर्षभित्र थप २३ करोड २१ लाख खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ देखि २० लाखसम्म बजेटका २२४ वटा मन्दिरमा २२ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ। कैलालीमा ६२ वटा मन्दिरमा ७ करोड बढी बजेट विनियोजन गरिएको छ। धनगढी उपमहानगरभित्र २८ वटा मन्दिरका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बझाङमा ३४ मन्दिरमा ३ करोड ६४ लाख, बैतडीमा २८ मन्दिरमा ३ करोड ३५ लाख, कञ्चनपुरमा २९ मन्दिरमा २ करोड ८१ लाख, डोटीमा १५ मन्दिरमा १ करोड ९६ लाख, बाजुरामा १८ मन्दिरमा १ करोड ८६ लाख, दार्चुलामा १६ मन्दिरमा १ करोड ६८ लाख, अछाममा ११ मन्दिरमा १ करोड १२ लाख र डडेलधुरामा ११ मन्दिरमा ८६ लाख रुपैयाँ विनियोजन गरेको छ। बैतडीको डिलासैनी गाउँपालिकामा साना मन्दिरका ८ वटा योजनामा ९५ लाख बजेट विनियोजन गरिएको छ। तीमध्ये सबैभन्दा धेरै वडा ५ मा चारवटा योजनामा ४५ लाख विनियोजित छ।

व्यक्तिका घरघरका मठमन्दिरमा बजेट खर्च गर्ने होडबाजी विगतदेखि नै चल्दै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३ सय मन्दिर निर्माण गर्न १६ करोड, २०७७/७८ मा २ सय ७० मन्दिर निर्माण गर्न २४ करोड, २०७८/७९ मा २ सय ५० मन्दिरका लागि १९ करोड र २०७९÷८० मा २ सय ९४ मन्दिर बनाउन २३ करोड २१ लाख विनियोजन गरेको अभिलेख छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको मन्दिरमा विनियोजित बजेट मात्रै नभएर भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयको बजेट तथा योजना विनियोजनको प्रकृति पनि उस्तै छ।

कमेन्ट लोड गर्नुस