सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा सहयोग गर्ने बढे, स्मार्टबोडबाट शिक्षण सिकाई

२०८१ असोज १२, ०९:५५ खबर संवाददाता

धनगढीः विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको छ।

आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय छनौट गरेर नमुना विद्यालय बनाउने अभियान अघि बढाएको छ।

त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको उपमहानगरपालिकाको भनाई छ। नगरप्रमुख शैक्षिक सुधार कोषमा हालसम्म विभिन्न संघसंस्था तथा ब्यक्तिको सहयोगबाट ६० लाख रुपैयाँ जम्मा भएको छ।

धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल स्वयंमले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न भनेर आर्थिक वर्ष २०८१/८२ को तलब सुविधाबाट पाउने करिब १० लाख रुपैयाँबाट शैक्षिक सामग्री किनेर वितरण गरेका छन्। नमुना विद्यालय घोषणा भएका धनगढीको ग्रामीण क्षेत्रका पाँचवटा विद्यालयलाई प्रतिविद्यालय १० वटाका दरले  उपमहानगरपालिकाले स्मार्टबोर्ड समेत वितरण गरिसकेको छ।

उपमहानगरपालिकाले घोषणा गरेका पाँचवटा नमुना विद्यालयलाई प्रत्येकलाई १० का दरले ५० वटा स्मार्टबोर्ड वितरण गरिसकिएको छ। उपमहानगरले सिद्धनाथ माविलाई पनि नमूना विद्यालय घोषणा गरेको छ। उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्न थालिएको हो।

सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्टबोर्डको प्रयोग गर्ने योजना बनाइएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिका भित्रका नमुना घोषणा भएका विद्यालयहरू शनिबारबाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने गरेका छन्।

नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना विद्यालयले अनावश्यक हुने सार्वजनिक बिदाको दिनसमेत विद्यालय चलाउने भन्दै वार्षिक कार्ययोजना बनाएका हुन्। विद्यार्थीको सिकाइमा सुधार गर्नका लागि सार्वजनिक विदाको दिनसमेत नियमित पठनपाठन गरिने विद्यालयहरुले जनाएका छन। गत वर्ष नमुना घोषणा भएका धनगढीका पाँच विद्यालयले शनिबार बाहेक अन्य सार्वजनिक बिदाका दिनसमेत पठनपाठन गर्ने वार्षिक कार्ययोजना बनाएका हुन्।

उपमहानगरपालिकाले सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नमूना घोषणा गर्दै भौतिक तथा शैक्षिक सामग्रीसहित विषयगत शिक्षकको व्यवस्थापन कार्यलाई पनि सँगसँगै अघि बढाएको छ। ग्रामीण क्षेत्रका विद्यार्थीलाई समेत प्रतिस्पर्धी र क्षमतावान बनाउन ग्रामीण क्षेत्रका विद्यालयलाई हरेक वर्ष नमुना बनाउँदै लग्ने योजना उपमहानगरको छ।

कमेन्ट लोड गर्नुस