सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा माछा पालक किसान ट्राफिक प्रहरीबाट हैरान

२०८१ असोज ११, ०६:१८ कमल सावद

धनगढीः कैलालीका माछा व्यापारी र किसान ट्राफिक प्रहरीबाट हैरान भएका छन्।

ग्रामीण बस्तीहरूबाट सहर–बजारसम्म मोटरसाइकल माछा ढुवानी गर्दा ट्राफिक प्रहरीले जरिबाना गर्दै आएको हो। मोटरसाइकलमा माछा ढुवानी गर्दै आएका किसानहरूले ट्राफिक प्रहरीका कारण हैरान भएको भन्दै गुनासो गरेका हुन्। उनीहरूले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियामा ज्ञापन पत्र नै बुझाएका छन्।

ट्राफिक प्रहरीले व्यवहारिक रूपमा मोटरसाइकल माछा ढुवानी गर्न दिनुपर्ने उनीहरूको माग छ। माछा ढुवानीका  गाडी नहुने तथा ग्रामीण बस्तीमा गाडी सञ्चालनमा समस्या हुने गरेको गुनासो किसानको छ। माछाको बजारीकरणका लागि मोटरसाइकल उपयुक्त रहेको भन्दै उनीहरूले ट्राफिक व्यवस्थापन कार्यालयमा ज्ञापन पत्र नै बुझाएका छन्।

माछा व्यापारी रामप्रसाद चौधरीले आफूले उत्पादन गरेको माछा मोटरसाइकलमा ढुवानी गर्दा जरिबाना गर्ने गरिएको बताए। उनले भने, ‘हजार, पन्ध्र सय एक दिनमा कमाइ हुन्छ। ट्राफिकले एक हजार जरिबाना गरेपछि हामीसँग केही रहदैन। हामीले बालबच्चा कसरी पाल्ने?’ किसानले माछा पोखरीबाट सहर–बजारसम्म मोटरसाइकल माछा ढुवानी गर्दै आएका छन्।

किसानलाई न्यून खर्चमा माछा ढुवानीका लागि मोटरसाइकल उपयुक्त साधन हो। तर, ट्राफिक नियममा मोटरसाइकलमा माछा ढुवानीको व्यवस्था नभएपछि ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। माछा ढुवानी गर्ने किसानबाट ५ सयदेखि एक हजार रुपैयाँसम्म ट्राफिक प्रहरीले जरिबाना गर्ने गरेको छ।

माछा पालक किसानहरूले मोटरसाइकल तथा साइकलमा माछा ढुवानी गर्न दिन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियासँग आग्रह गरेका छन्। मोटरसाइकलमा एउटा टोकरी बाँधेर माछा ढुवानी गर्दा ट्राफिकले जरिबाना तिराउने गरेकाले हैरान भएको गुनासो किसानको छ। माछा बिक्रीबाट एक/दुई हजार आम्दानी गर्ने किसानलाई ट्राफिक प्रहरीले एकै पटक एक हजार रुपैयाँसम्म जरिबाना तिराउने गरेको छ।

दैनिक माछा बिक्रीबाट भएको आम्दानी एक पटक ट्राफिक प्रहरीले कारबाही गर्दा सकिने गरेको माछा व्यवसायी कृष्ण गिरीले बताए। कैलालीमा एक सय ५० जना माछा व्यापारी मोटरसाइकलमा माछा बिक्री गर्दै आएको उनले बताए। उनले भने, ‘ठुलो व्यापारी एकैले कमाउने हो। तर, मोटरसाइकलमा २ सयले रोजगारी पाउने हो। एक दिनमा हजार, पन्ध्र सय कमाउने हो। ट्राफिकले एक हजार लिएपछि सकियो।’

ट्राफिक प्रहरीले जरिबाना तिरान थालेपछि माछा पालक किसान तथा व्यापारीहरूको पेसा संकटमा परेको गुनासो उनीहरूको छ। ट्राफिक प्रहरीले दुर्घटना हुने भन्दै जरिबाना गर्ने गरेको छ। तर, किसानले १५/२० किलोग्राम माछा मोटरसाइकलमा ढुवानी गर्दा दुर्घटनाको जोखिम धेरै नहुने तर्क गरेका छन्। किसानले क्रेटमा माछा सहर–बजार तथा गाउँ–घरममा बिक्री गर्ने गरेका छन्।

मोटरसाइकलमा क्रेट राख्नु गैरकानुनी भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए। उनले भने, ‘हामीले सहजीकरण गर्छाै। तर, कानुनले दिदैन।’ भारतबाट गैरकानुनी रूपमा आयात हुने माछाका कारण हैरान भएका किसान ट्राफिक प्रहरीका कारणसमेत समस्यामा पर्ने गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस