सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुुऔषधको दलदलमा फस्दै युवती

२०८१ असोज १०, ०२:२८ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधको दलदलमा युवकसँगै युवती पनि फस्न थालेका छन्।

जिल्लामा २ महिनाको अवधिमा लागुऔषधसहित चार युवती पक्राउ नै परिसकेका छन्। लागुऔषध सेवनसँगै कारोबार, ओसारपसार र विक्रीवितरणमा समेत महिला संलग्न हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका–३ बाजुरा होटलबाट सोहि होटलकी सञ्चालिका बाजुराको खप्तड–छेडेदह गाउँपालिका–४ की ४१ वर्षीया मानमती ऐडी लागुऔषधसहित पक्राउ परेकी छन्।

उनी ७७० ग्राम लागुुऔषधसहित पक्राउ परेकी हुन्। केहीदिन अघि मात्रै धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागुऔषधसहित पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–८ की २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेकी थिइन्।

यसरी युवकसँगै युवती पनि लागुऔषधसहित पक्राउ पर्नेक्रम बढेको प्रहरीले बताएको छ। साउनदेखि हालसम्म लागुऔषधसहित चार युवती पक्राउ परिसकेका छन्। उसो त साउन र भदौ महिनामा मात्र जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित ८१ जनालाई पक्राउ गरेको छ। साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जना पक्राउ परेको प्रहरीको तथ्यांक छ।

कमेन्ट लोड गर्नुस