सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा ‘रेडअलर्ट’ जारी

२०८१ असोज ९, ०६:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ। कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट भीषण वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

पछिल्लो पटक मनसुन सक्रिय भएर वर्षा लम्बिएपछि सुदूरपश्चिमका किसान चिन्तित बनेका छन्। मनसुन सक्रिय भएपछि पाकेको धान भित्र्याउन किसानलाई कठिनाइ भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि सतर्कता अपनाउन सार्वजनिक अपिल नै जारी गरिसकेको छ।

जल तथा मौसम विज्ञान विभागको हवाला दिएर बंगालको खाडीबाट प्रभाव हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको बताउँदै मन्त्रालयले सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको छ। कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्न आग्रह गरिएको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरूमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ। यता धनगढी उपमहानगरपालिकाले पनि माइकिङ नै गरेर नगरवासीहरूलाई मौसमबारे जानकारी गराएको छ। नगर प्रहरीले मौसमबारेको सूचना माइकिङ गरेर नगरवासीलाई जानकारी गराएको हो। पछिल्लो समय किसानहरू मौसमी सूचनाको आधारमा बाली रोप्नेदेखि भित्र्याउने कार्य गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस