सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३५ वर्ष मुनिका युवा चोरीमा संलग्न, पाँच महिनामा ३७ घटना प्रहरीमा दर्ता

२०८१ असोज ६, ०६:५१ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा चोरीका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। पाँच महिनाको अवधिमा मात्र ३७ चोरीका घटना प्रहरीमा दर्ता भएको पाइएको हो।

बैतडी, डडेल्धुरा, अछाम र बाजुरा बाहेक पाँच जिल्लामा बैशाखदेखि भदौसम्म चोरीका ३७ घटना प्रहरीमा दर्ता भएका छन्। सबैभन्दा बढी कैलालीमा २१ वटा चोरीका घटना भएका छन्। यस्तै, कञ्चनपुरमा १०, बझाङमा ४ र दार्चुला तथा डोटीमा एक÷एक चोरीका घटना भएका छन्। चोरीमा एउटै व्यक्तिको संलग्नता एकभन्दा बढी घटनामा देखिएको छ। चोरीमा संलग्न अधिकांश किशोरावस्था र ३५ वर्षमुनिका युवा रहेको पाइएको छ।

२०८१ बैशाखदेखि भदौ मसान्तसम्म पाँच महिनामा सुदूरपश्चिमका पाँच जिल्लामा ३७ वटा चोरीका घटना भएका हुन्। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांक अनुसार बैतडी, बाजुरा, अछाम र डडेल्धुरा बाहेकका पाँच जिल्लामा पाँच महिनाको अवधिमा ३७ वटा चोरीका घटना भएका छन्। सबैभन्दा बढी चोरीका घटना कैलालीमा भएका छन्। कैलालीमा २१ वटा चोरीका घटना प्रहरीमा दर्ता भएका हुन्। कैलालीमा पसल फोडेर नगद चोर्ने, मोबाइल चोर्ने, कम्प्युटर चोर्ने, साइकल चोर्ने र सवारीसाधनको टायर, ट्युब, ब्याट्री र इन्धन चोर्ने घटना अधिक हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ। चोरीका घटनामा संलग्न २० वर्षमुनिका व्यक्तिले मोबाइल, साइकल र ल्यापटप चोरेको पाइएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा र जानकी गाउँपालिकामा चोरीका घटना भएको प्रहरी तथ्याङ्कले देखाएको छ। धनगढीका विभिन्न स्थानबाट ल्यापटप र मोबाइल चोरी गर्नेमा १९ वर्षमुनिका चार जना किशोर समूह रहेको पहिचान खुलेको छ। पाँच महिनामा कञ्चनपुरमा १० वटा चोरीका घटना भएका छन्। कञ्चनपुरमा पनि चोरीका घटनामा २० वर्षमुनिका व्यक्तिको संलग्न बढी देखिएको छ। कञ्चनपुरमा पनि नगद, साइकल, मोबाइल र पसलबाट किराना सामान चोरीमा युवाहरू संलग्न रहेको पाइएको हो। बझाङमा एउटै व्यक्ति चारवटा चोरीको घटनामा संलग्न रहेको पुष्टि भएको छ। जिल्लाको छविसपाथिभेरा स्थित भाडेबजारमा एउटै व्यक्तिले साउन २९ गते चारवटा पसलमा चोरी गरेको पाइएको छ।

डोटीमा भएको एउटा चोरीको घटनामा भदौ ४ गते कालिकोट र डोटीको बोगटान घर भएका युवाले पसलमा बास बसी रातिको समयमा एक लाख १४ हजार चोरी गरेका हुन्। यस्तै, दार्चुलामा एउटा मोबाइल चोरीको घटना भएको छ। पाँच महिनामा सवारी साधन चोरी बाहेकका ३७ घटनाका अधिकांश आरोपितलाई प्रहरी पक्राउ गरेको छ। उनीहरू मध्ये केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस