सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तस्करी बढ्यो, २९ लाखको अबैध सामान जफत

२०८१ असोज ६, १२:२५ खबर संवाददाता

धनगढीः कैलालीसँगै कञ्चनपुरमा पनि तस्करी बढेको छ। भारतबाट दैनिक रुपमा भन्सार छलेर सामान आउनेक्रम बढेको छ।

सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा भन्सार छलीको सामान भित्र्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ठुलो परिमाणमा भन्सार छलीको सामान जफत गरेको छ। जिल्ल प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले २६ लाख १७ हजार ६ सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख २७ हजार, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ४० हजार मुल्यको सामान जफत गरिएको छ। 

यस्तै इलाका प्रहरी कार्यालय बेलडाडीले ९ हजार ६ सय, प्रहरी चौकी जिमुवाले ११ हजार ५१०, प्रहरी चौकी झिलमिलाले ९ हजार ३६०, अस्थायी प्रहरी पोष्ट भासीले एक लाख एक हजार, अस्थायी प्रहरी पोष्ट बाणीले ४६ हजार ७५० र अस्थायी प्रहरी बिट बसपार्कले ५९ हजार २ सय गरी एकैदिन करिब २९ लाख १६ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरिएको हो।

प्रहरीले मोबाइल कभर, कोट पाइन्ट, थेरापी मसिन, प्लाष्टिक डिब्बा, एक थान मोटरसाइकल, पेयपदार्थ, साडी, बिडी, चिनी, तेल, दाल, चक्लेट, किरानाको  सामान, हाडवेयरको सामान, कस्मेटिक सामान, कपडा र स्टेसनरी बरामद गरेर भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कैलालीले समात्यो ३ लाख मुल्यको अबैध सामान
यता कैलालीमा पनि तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट आइतबार खटिएको प्रहरी टोलीले करिब २ लाख ८० हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको हो। धनगढी उपमहानगरपालिका स्थित ट्राफिक चोक, बैयाबेहडी र त्रिबेणीघाटबाट २ लाख १८ हजार ७१८ मुल्यको किराना सामान, कपडा र सुर्तीजन्य पदार्थहरु, भजनी नगरपालिका स्थित ठेकीपुल र हिक्मतपुरबाट ३२ हजार ८२० मुल्यको प्लाष्टिक डोरी र सुर्तिजन्य पदार्थ तथा गोदावरी नगरपालिका–१ अत्तरियाबाट २८ हजार ५ सय मुल्यको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस