सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलले लेबनानमा हवाई हमला गर्दा ८ जनाको मृत्यु

२०८१ असोज ४, ०९:३२ खबर संवाददाता

एजेन्सीः इजरायलले लेबनानमा पछिल्लो २४ घण्टामा दोस्रो पटक हवाई आक्रमण गरेको छ।

लेबनानमा इजरायलले गरेको यो दोस्रो आक्रमण हो। राजधानी बेरुतको दहियाह क्षेत्रमा आक्रमण हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। साथै दर्जनौं घाइते भएको जनाइएको छ। यो हमलामा हिजबुल्लाहको शीर्ष सैन्य इकाई जिहाद काउन्सिलका सदस्य इब्राहिम अकिल पनि परेको जनाइएको छ।

अकिल सन् १९८३ मा बेरुतमा अमेरिकी मरीन ब्यारेकमा भएको आक्रमणको मामिलामा अमेरिकाको खोजी सूचीमा परेका थिए। इजरायलले एफ–३५ लडाकु विमानबाट यो हमला गरेको लेबनानी मिडिया रिपोर्टले दावी गरेका छन्। हमलामा हिजबुल्लाह लडाकुहरू रहेको एउटा भवनलाई निशाना बनाएको थियो।

यसअघि बिहीबार राति इजरायलले दक्षिण लेबनानमा ७० वटा हवाई हमला गरेको थियो। टाइम्स अफ इजरायलका अनुसार गाजा युद्ध सुरु भएयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो। इजरायली सेनाले लेबनानी हतियार भण्डारमा आक्रमण गरी नष्ट गरेको दाबी गरेको छ। इजरायली आक्रमणमा हिजबुल्लाहका १०० रकेट लन्चर नष्ट भएको जनाइएको थियो। जसमा १ हजार रकेट ब्यारेल नष्ट भएको थियो।

कमेन्ट लोड गर्नुस