सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ३९८ ग्राहकको विद्यूत लाइन काटेपछि ३४९ ग्राहकले तिरे बक्यौता

२०८१ असोज ४, १२:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा समयमा विद्युत महसुल नतिर्ने ३९८ ग्राहकको लाइन काटिएको छ।

प्राधिकरणले महसुल नतिर्ने ३९८ ग्राहकको लाइन काटिदिएको हो। लाइन काटिएपछि भने अधिकांश ग्राहकले महसुल तिरेका छन्। ३४९ ग्राहकले बक्यौता तिरेपछि हाल लाइन जोडिएको छ। ४९ ग्राहकले बक्यौता रकम नतिरेपछि लाइन अझै जोडिएको छैन्।

नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता नतिरेका ग्राहकको लाइन काटिएको बताए। लाइन काटेपछि अधिकांश ग्राहकले बक्यौता तिरेपछि पुनः लाइन जोडिएको उनले बताए। बक्यौता नतिरेसम्म बाँकी ग्राहकको लाइन नजोडिने उनको भनाई छ।

उनले बक्यौता नतिरेपछि नियमअनुसार असुल गर्न सर्वसाधारण ग्राहकको पनि लाइन काट्न बाध्य भएको बताए। बक्यौता नतिरेका अन्य ग्राहकको घरमा भने अझै लाइन जोडिएको छैन। प्राधिकरणले बिल उपलब्ध गराएको सात दिनमै महसुल भुक्तानी गरे २ प्रतिशत छुट पाइने र मिटर रिडिङ भएको १६औँ दिनदेखि भने थप दस्तुर लाग्ने व्यवस्था छ।

मिटर रिडिङ भएको ६०औँ दिनसम्म महसुल नतिरे २५ प्रतिशत थप दस्तुर लाग्छ। त्यो अवधिमा बक्यौता नतिरे ग्राहकको लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।

अब भने नजिकिँदै गरेको दसैँ–तिहारलाई लिक्षित गरेर तत्कालका लागि विद्युत् महसुल असुली अभियान स्थगित गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार २०८१ भदौ ११ देखि ३१ गतेसम्म सुदूरपश्चिम प्रदेशका ३९८ ग्राहकको लाइन काटिएको छ। त्यसमध्ये ३४९ ग्राहकले बक्यौता तिरेपछि हाल लाइन जोडिएको छ।

कमेन्ट लोड गर्नुस