सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसका सह–प्राध्यापक साउँदसहित २३ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार

२०८१ असोज ३, ०७:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डाक्टर प्रेमसिंह साउँदसहित विश्वविद्यालय र सार्वजनिक विद्यालयमा कार्यरत १४ जना शिक्षक र कर्मचारीलाई राष्ट्रिय शिक्षा पुरस्कार, २०८१ बाट सम्मानित गरिएको छ।

सह–प्राध्यापक साउँदसँगै सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक डाक्टर दीपकचन्द्र भट्ट र कार्यालय सहयोगी बिरबहादुर डगौरा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका हुन्। सार्वजनिक विद्यालयतर्फ कैलालीको धनगढी–१४ फूलबारीको सर्वोदय माध्यमिक विद्यालयका शिक्षक जीतबहादुर चौधरी पनि राष्ट्रिय शिक्षा पुरस्कार, २०८१ बाट सम्मानित भएका छन्।

यसैगरी, बैतडीका शिक्षक रमेश नाथ, डोटीका कुमारी तुलसी पाण्डेय, बाजुराका भोजराज पाध्याय, बझाङका टेकबहादुर सिंह, डडेल्धुराका केशवराज पन्त, अछामका देवेन्द्रबहादुर शाह, कञ्चनपुरका रमेशसिंह भण्डारी र दार्चुलाका बलदेवसिंह धामीलाई राष्ट्रिय शिक्षा पुरस्कार मिलेको हो।

यस्तै, धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका कार्यालय सहयोगी रुद्र भुजेल, बैतडीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्द, डोटीका विद्यालय कर्मचारी तपराज ओझा, बाजुराका बालविकास शिक्षक पुर्वा मल्ल र बझाङका  विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रबहादुर खड्काले पुरस्कार पाएका छन्।

सुदूरपश्चिमका निजी क्षेत्रको विद्यालय सञ्चालक थप पाँच जनाले पनि राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन्।  कैलालीको धनगढीका करुणाकर पाण्डेय, अत्तरियाका गिरिराज कठायत, डोटीका हेमराज मलासी र बाजुराका मिनबहादुर कार्कीले पुरस्कार पाएका हुन्।
 

कमेन्ट लोड गर्नुस