सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागारको शौचालयमा ढलेका दीपकको ‘प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा’

२०८१ असोज ३, १२:२९ खबर संवाददाता

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक विक २०८० माघ ७ गते पक्राउ परे। प्रहरीले उनलाई जबरजस्तीकरणी र हाड नाता करणीको आरोपमा पक्राउ परेका थिए।

कैलाली जिल्ला अदालतले विकलाई २०८० फागुन ३ गते पुर्पक्षका लागि कारागार पठायो। उनी ६ महिनादेखि जिल्ला कारागार कैलालीको थुनुवा कक्षमा थिए। जिल्ला कारागार कैलालीको शौचालयमा ढलेको अवस्थामा फेला परेका विकको २०८१ भदौ ३१ गते मृत्यु भयो। शौचालयमा फेला परेका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा छ।

बहिनीसँग प्रेम

मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली प्रहरीले पहरी थर भएकी उनकी प्रेमिकालाई पक्राउ गरिएको हो। विककी प्रेमिका रहेकी किशोरी आफ्नै काकाकी छोरी भएको खुलेको छ। नातामा दाजु बहिनी पर्ने उनीहरुबिच प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ। उनै किशोरीलाई जबरजस्तीकरणी र हाडनाता करणी गरेको मुद्‍दामा दीपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएका हुन्।

विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेका बेला प्रेमीकासहितको नाममा तयार पारिएको नोट फेला परेको छ। कैलाली प्रहरीले अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवन गरेर मृत्यु भएको हो। सलपास प्रेमिकामार्फत नै कारागारभित्र रहेका मृतकको हातमा पुगेको अनुसन्धानका क्रममा खुलेको कैलाली प्रहरीले बताएको छ। कारागारले ३७ पृष्ठ लामो नोटमा विकले दुवै जनाले सँगै मर्ने बाचा गरेअनुसार मृत्युको बाटो रोजेको उल्लेख गरेका छन्। उनले नोटको सुरुमा नै लेखेका छन्, ‘कृपया सबैको सामु भन्दै छु। हामीलाई सँगै जिन्दगी जिउन त दिएनौ। तर, मृत्युपछि एकै चित्तामा जलाउनु। यो मेरो अन्तिम इच्छा हो।’

कारागारमै पुग्यो विष

दाजु बहिनीबिचको प्रेम सम्बन्धबारे २०८० को फागुनमा मात्र परिवारले थाहा पाए। त्यो बेला किशोरीको पेटमा तीन महिनाको गर्भ थियो। दाजु बहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरूको परिवारमा तनाव सिर्जना भयो।

किशोरीका परिवारले २०८० फागुन ८ गते इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्तीकरणी र हाडनाता शीर्षकमा दीपकविरुद्ध किटानी जाहेरी दिए। सोही मुद्‍दामा उनी पक्राउ परे र पुर्पक्षका लागि कारागार चलान भए। किशोरीको गर्भ पतन गराइएको थियो।

दीपक कारागार चलान भएपछि किशोरी श्रीमतीका रूपमा उनलाई भेट्न आइरहन्थिन्। उनीहरूबिच टेलिफोनमा समेत संवाद हुने गरेको थियो। एकातिर किशोरीको पेटमा रहेको गर्भ पतन, अर्कोतिर दीपकको कारागार बसाई र आफूहरूका कारण पारिवारिक विग्रह सिर्जना भएको विषयमा दुवै जना चिन्तित थिए।

पक्राउ परेकी किशोरीले प्रहरीलाई दिएको बयानअनुसार यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए। उनले नोटमा लखेका छन,‘ ...२०८१÷०५÷३१ हो यो दिन। हाम्रो अन्तिम दिन हो, यो धर्तीमा। त्यसपछि कसैलाई केही पनि तनाव हुँदैन।’

कारागारमा कसरी भित्रियो विष

भदौ २६ गते दीपक विकलाई भेट्न कैलाली कारागार पुगेकी प्रेमिका पहराईले सोही दिन सलपास उनलाई दिएको कुरा खुलेको छ। ‘त्यो दिन उनी तीन वटा कपडा र एउटा अचारको प्लास्टिकको डब्बा लिएर कारागार भेट्न गएको देखिन्छ। प्रहरीले चेकजाँच गर्दै आचार समेत उनलाई चखाएको रहेछ। उनले आचारको प्लास्टिकको डब्बाभित्र पिधमा प्लास्टिकमै बाँधेर सलपास भित्र दिन सफल भएको देखिन्छ,’ कारागार स्रोतले भन्यो।

सीसीटीभी फुटेजमा देखिएनअनुसार प्रहरीले किशोरीलाई चेकजाँच गर्दै चम्चामा निकालेर अचार पनि चखाएको देखिन्छ। तैपनि उनी दीपकसम्म सलपास पुगाउन सफल भइन्। किशोरीले पनि अचारको डब्बाभित्र राखेर सलपास प्रेमी दीपकलाई दिएको बयान प्रहरी समक्ष दिएकी छन् ।

दीपकलाई सलपास दिइसकेपछि आफूले पनि सेवन गर्नेगरि सलपास कागजमा बेरेर साथमै ल्याउन तयारी अवस्थामा राखेको तर, बिर्सेर घरमै छुटेका कारण सेवन गर्न नपाएको बयान पनि किशोरीले दिएकी छन्। प्रेमिकाले दिएको सलपास दीपकले ३१ भदौको दिउँसो शौचालयमा गएर सेवन गरेका हुन्।

‘प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा’

दीपकले मृत्युअघि लेखेको ३७ पृष्ठको सुसाइड नोट फेला परेको छ। कारागारभित्रै फेला परेको सुसाइड नोटमा दीपकले दुवै जनाको प्रेम सम्बन्ध, पहराईको गर्भपतनदेखि घर परिवारले इज्जत बाहेक केही नहेरेको भन्दै पीडा र आक्रोश व्यक्त गरेका छन्।

आफू कारागार चलान भएपछि प्रेमिकाको ठूलो खुसी खोसिएको र तनावका कारण कुनै निर्णय लिन नसक्दा मृत्युसँग लडिरहेकी तर अब भने दुवै जना कसैको जिन्दगीको बाधक नबने भन्दै मृत्युको बाटो रोजेको कुरा सुसाइड नोटमा उल्लेख छ।

 

कमेन्ट लोड गर्नुस