सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वनबेहडामा रहेको सशस्त्र प्रहरी गणले मनायो स्थापना दिवस

२०८१ असोज १, ०९:५६ खबर संवाददाता

धनगढी ः कैलालीको वनबेहडामा रहेको सशस्त्र प्रहरी गणले स्थापना दिवस मनाएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–६ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्भ गण हेडक्वाटर वनबेहडाले चौथो स्थापना दिवस मनाएको हो।

एक हप्तादेखि विविध कार्यक्रमको आयोजना गर्दै आएको गणले आज एक औपचारिक समारोहका बिच स्थापना दिवस मनाएको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालयका निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपाने प्रमुख अतिथि रहेका थिए।

सशस्त्र प्रहरीका संस्थापक कृष्णमोहन श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले स्थापना दिवसमा गरिने कार्यक्रमहरूले सक्कल दर्जाका सेवकहरूमा भातृत्व एवम् बन्धुत्वको भावना सिर्जना गराउनुका साथै फौजी संगठनलाई आवश्यक टिम स्प्रीटको मर्मलाई समेत सम्बोधन गर्ने बताए।

गणले स्थापना कालदेखि नै जिल्लामा शान्ति सु—व्यवस्था अमनचयन, आपराधिक गतिविधि नियन्त्रण, बन्द, हडताल, धर्ना जुलुस, सिमा सुरक्षा, राजमार्ग सुरक्षा, विपद् व्यवस्थापन, सवारी दुर्घटनामा उद्धार, निर्वाचन सुरक्षा, भिआइपी सुरक्षा लगायतका अन्य सामाजिक कार्यहरूमा परिचालित रहि संगठनको छवी उच्च राख्ने कार्यमा सधैँ ममत्वपूर्ण तथा संवेदनशील जिम्मेवारी बहन गर्दै आईरहेको उनले बताए।

तत्कालीन आन्तरिक द्वन्द्वको विषम परिस्थितिमा स्थापना भएको संगठनले समयान्तर विविध चुनौतीहरूलाई पार गर्दै राष्ट्रको आन्तरिक सुरक्षा कायम गर्न सफल भएको भन्दै उनले उच्च मनोबल, पेसागत दक्षता सेवा विशिष्टीकरण तथा क्रमशः आधुनिक तथा प्रविधियुत्त स्रोत साधनसहित परिचालन भई जनताको जिउधनको सुरक्षा गर्न सफल भएकोले सशस्त्र प्रहरी बल नेपाल देश र जनताको भरोसा जित्दै अब्बल सुरक्षा फौजको रूपमा स्थापित भएको उनले बताए।

न्यौपानेले यो विश्वासलाई कायम राख्दै संगठनको उदेश्य प्राप्ति तथा सरकारबाट प्राप्त कार्यादेशहरूको पूर्ण व्यवसायी, कर्तव्यनिष्ठ,इमान्दार, लगनशील एवम् अनुशासित ढंगबाट कार्यसम्पादन गर्दै बदलीदो सुरक्षा चुनौतीको सामना गर्ने गरी संगठनले विकसीत गरेका नीति नियमहरूको पालना गरी समाजसापेक्ष अनुकूल सरोकारवाला सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न गराउन सक्कल दर्जाका राष्ट्र सेवक प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।

राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, नागरिकका मौलिक हक,मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्दै शान्ति—सुव्यवस्थाका साथ भयरहित वातावरणमा जीवनयापन गर्ने नागरिकको नैसर्गिक अधिकारको सुनिश्चित गर्न पनि सशस्त्र प्रहरी बल सफल हुनुपर्ने उनले बताए।

गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले गणले एक वर्षमा विपद्मा परेका ३४ जनाको जीवितै उद्धार, एक सय चार जना सशस्त्र प्रहरीबाट रक्तदान, एक हजार सात सय स्थानीय तथा विद्यार्थीहरूको उपस्थितिमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नियमित लामो तथा छोटो दुरीमा गस्ती सञ्चालन लगायतका कार्यहरू गरेको बताए।

उहाँले आम जनमानसमा सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको बताउँदै आगामी दिनमा पनि उपलब्ध स्रोत साधन एवम् जनशक्तिको अधिकतम परिचालन गरी नतिजामुखी कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिकारीले स्थापनाको चौथो वर्ष व्यतीत भएको आजको क्षणले कैलालीका सशस्त्र प्रहरीको उपस्थिति अझ गर्बिलो बनाउन उत्साह थप्ने बताउनुभयो ।

उहाँले गण अहिलेको अवस्थासम्म आइपुग्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

गणले चौथो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने सशस्त्र प्रहरी कर्मचारीहरूलाई मेडल तथा प्रमाणपत्र तथा गण तथा मातहतका निकायमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो ।

त्यस्तै गणमा कार्यरत प्रहरी कर्मचारीहरूले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका विभिन्न कार्यालयका प्रमुख, देवीदल गण तेघरीका गणपति,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

संगठनलाई जिम्मेवारी प्रदान गर्ने उपदेश्यले संगठन तथा व्यवस्था सर्वेक्षण २०७७ बमोजिम नेपाल सरकार मन्त्रि परिषद्को २०७७ असार २९ गतेको निर्णय अनुसार २०७७ असोज १ गते कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को बनबेहडामा तत्कालीन सशस्त्र प्रहरी बल बडीमालिका गणको परिसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर वनबेहडाको स्थापना भएको थियो ।

 

कमेन्ट लोड गर्नुस