सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारभित्र जब प्रेमिकाले नै विष थमाएपछि...

२०८१ असोज १, ०७:०७ खबर संवाददाता

धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजे जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेर उनको मृत्यु भएको बताएको छ। कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगायो।

तर ती कैदीबन्दीको कुटेर नभएर कारागारभित्र विष सेवन गरेर आफ्नो जीवन आफै समाप्त पारेको जिल्ला कारागार कैलालीका जेलर दिपक पाण्डेले बताए। ती कैदीबन्दीको प्रेमिकाले अचारको डिब्बाभित्र विष राखेको र सो विष सेवन गरेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। अहिले ती महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।

उनले ३६ पानाको सु–साइट नोट समेत लेखेका छन्। २०८० फागुन ३ गते विक जिल्ला अदालत कैलालीको आदेशले जबरजस्ती करणी मुद्दा अन्तर्गत हाडनाता करणीमा उनी कारागार चलान भएका थिए। उनी पुर्पक्षकै क्रममा कारागारमा थिए। उनी हिजो २ः५० बजेको समयमा शौचालय पसेर बाहिर निस्कदा उल्टी गर्दै आएको अवस्थामा देखा परेका थिए।

त्यसपछि एक जना कैदीबन्दीले गेटमा रहेका सुरक्षाकर्मीलाई खबर गरे। सुरक्षाकर्मीले आफूलाई खबर गरेपछि तुरुन्तै ती व्यक्तिलाई बाहिर निकालिको जेलर पाण्डेले बताए। उनको साथमा सल्फासको प्याकेट खोलिएको अवस्थामा फेला परेको उनले बताए। त्यसपछि उनलाई गाडीमा राखेर सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको साँझ ६ बजे मृत्यु भएको जेलर पाण्डेले बताए।
त्यसपछि गरियो खानतलासी
कैदीबन्दी विकको उपचारका क्रममा मृत्यु भएपछि उनको खानतलासी गर्दा ३७ पानाको सु–साइट नोट उनी सुत्ने स्थानमा फेला परेको जेलर पाण्डले बताए। नोटमा आबाबुवालाई सम्बोधन गर्दै आफ्नो मर्ने मितिसमेत उल्लेख गरेको पाइएको छ। सीसीटीभी फुटेज र उसलाई भेट्न आउने सबैको विवरण हेर्दा जसले जबरजस्ती करणी गर्यो भनेर मुद्दा दायर गर्नु भएको थियो तीनै महिला पटकपटक ती कैदीबन्दीलाई भेट्न आउने गरेको पाइयो।

ती दुई जनाबिच फोन सम्पर्क भइरहने, उनीहरुबिच गहिरो प्रेम सम्वन्ध रहेको, महिला नियमित रुपमा कैदीन्दीसँग सम्पर्कमा रहेको खुलेको छ। ती महिला पटकपटक भेट्न आउने अनि खानेकुरा लिएर आउने गरेको पनि पाइयो। २६ गते पनि ती महिला भेट्न आएको देखिएको छ। सो दिन ती महिलाले अचारको बट्टा, फलफुल र एक हजार रुपैयाँ नगद दिएको देखिएको छ।

अब के देखियो भने अचारको बट्टाभित्र सेन्टरफ्रुट्स र त्यो भित्र सलफासको प्याकेट राखेर दिएको पत्ता लागेको छ। जेलर पाण्डेका अनुसार उनीहरु दुबै जनाबिच अब हामी प्रेममा असफल भयौ, म भित्र परे तीमी बाहिर रह्यो। हाम्रो घर परिवारले स्वीकारेन भन्दै दुबै जनाले मर्नुपर्छ भनेर सल्लाह भएको देखिन्छ।

जेलर पाण्डेका अनुसार कैदीबन्दी भेट्न आउने व्यक्तिलाई आँखा र हातले चेक गर्ने गरेका छौँ, यहाँ त्यस्तो चेकजाँच गर्ने कुनै उपकरण छैन्। चेकजाँचमा कडाई गर्दागर्दै पनि अचारको डिब्बाभित्र सल्फास कारागारभित्र पुगेको विषयमा नैतिक जिम्मेवारी लिन आफूहरु तयार रहेको जेलर पाण्डेले बताए। अहिले ती महिला जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।

कमेन्ट लोड गर्नुस