सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २ महिनापछि ३१ अर्ब ९८ करोडको बजेट प्रदेश सभामा पेस

२०८१ भदौ ३१, ०७:०९ खबर संवाददाता

धनगढीः चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि सुदूरपश्चिम प्रदेश सभामा ३१ अर्ब ९८ करोड २८ लाखको बजेट प्रस्तुत गरिएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका हुन्। अधिकांश पुरानै योजनालाई सामावेश गरेर सुदूरपश्चिमको बजेट चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि प्रदेश सभामा पेस गरिएको हो।

प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार अर्थात कुल विनियोजित बजेटको ४० दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार अर्थात ५९ दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ भने एक करोड बजेट विनियोजन गरिएको छ।

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वमा रहेको अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि असार १ गते ३१ अर्ब ६२ करोडको बजेट पेस गरेको थियो। तर त्यसबेलाको सत्ता साझेदार दल एमाले सरकारबाट बाहिरिएपछि बजेट न पारित भयो, न त फेल।

सोडारीले साउन १८ गते पदबाट राजीनामा दिएका थिए। साउन २१ गते एमाले र नागरिक उन्मुक्तिको साझेदारीमा कांग्रेसका कमलबहादुर शाह नेतृत्वको नयाँको सरकार गठन भएपछि सोमबार प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो। नयाँ सरकारले राजस्व संकलनसम्बन्धी अध्यादेश ल्याएर साउन २४ देखि राजस्व संकलनको गाँठो फुकाएको थियो। तर समयमा बजेट नआँउदा कर्मचारीले तलब पाउन सकेका थिएनन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुदूरपश्चिममा हाल १ हजार ६३८ जना स्थायी दरबन्दीका कर्मचारी छन्। अस्थायी, करार र परामर्श सेवाका गरी करिब ५ सयभन्दा बढी थप कर्मचारी छन्। सामाजिक विकास मन्त्रालयअन्तर्गतका जिल्ला अस्पतालहरूमा करार सेवाका कर्मचारीको संख्या धेरै छ।

सुदूरपश्चिममा स्थायी दरबन्दीका कर्मचारी अधिकृतस्तरभन्दा उपल्लो तहका निकै कम छन्। प्रशासन सेवातर्फ २४ जना उपसचिवको दरबन्दी रहेको सुदूरपश्चिममा चार जना मात्रै कार्यरत छन्। प्रशासन सेवातर्फ ६८ जना शाखा अधिकृतको दरबन्दी रहेकोमा १४ जना मात्रै कार्यरत छन्।

कमेन्ट लोड गर्नुस