सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनाद्वारा निर्मित सुरक्षित घर बन्यो बाढी प्रभावितका लागि आश्रय

२०८१ भदौ ३१, ०५:४७ खबर संवाददाता

कञ्चनपुर: नेपाली सेनाद्वारा निर्मित सुरक्षित घर बाढी प्रभावितका लागि महत्त्वपूर्ण आश्रय बनेको छ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १० स्थित कुतियाकभर गाउँमा बाढीबाट प्रभावित भएका स्थानीय बासिन्दाहरूका लागि नेपाली सेनाद्वारा निर्मित सुरक्षित घरले महत्त्वपूर्ण आश्रय स्थल बनेको हो।

२०८१ भाद्र २६ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण गाउँ डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका सहित ५६ जना स्थानीय बासिन्दाहरूले उक्त सुरक्षित घरमा आश्रय लिएका छन्।

यसअघि पनि २०८१ असार २० गतेदेखि लगातार ४ दिनसम्म परेको भारी वर्षाले कुतियाकभर गाउँ डुबानमा परेको थियो। उक्त समयमा समेत स्थानीय बासिन्दाहरूले सुरक्षित स्थानको रूपमा उक्त सुरक्षित घरलाई प्रयोग गरेका थिए।

नेपाली सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत सुदूर पश्चिम पृतनापतिले निर्माण गरेको उक्त सुरक्षित घर दोधारा चाँदनी नगरपालिकालाई २०८१ असार १७ गते हस्तान्तरण गरिएको थियो। निर्माण भएदेखि नै सुरक्षित घरले कुतियाकभर गाउँका स्थानीयलाई बाढीजस्ता प्राकृतिक विपद्का बेला सुरक्षित आश्रय प्रदान गर्दै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार, यस सुरक्षित घरको निर्माणले बाढीजन्य विपत्तिका समयमा उनीहरूलाई सुरक्षित स्थान प्राप्त गर्न मद्दत पु¥याएको छ, जसले उनीहरूको जीवन र सम्पत्तिको रक्षा गर्न महत्त्वपूर्ण योगदान दिएको छ। सुरक्षित घरलाई निरन्तर सुधार र व्यवस्थापन गरेर भविष्यमा पनि यस्ता विपद्को सामना गर्न सक्षम बनाउने प्रयास नगरपालिकाले गर्ने जनाएको छ।

कमेन्ट लोड गर्नुस