सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ६ जना युवक पक्राउ

२०८१ भदौ २८, ०३:१८ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

बुधबार र विहिबार गरेर लागुऔषधसहित कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले १२ जना युवकलाई पक्राउ गरेको छ। कैलालीमा मात्र लागुऔषधसहित पाँच जना युवक पक्राउ परेका हुन्। बिहीबार साँझ इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँका ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जना पक्राउ परेका हुन्।

४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र विक र ३० वर्षीय जनक बडुवाल लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। ४ ग्राम २१० मिलिग्राम लागुऔषधसहित चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। यस्तै कञ्चनपुरबाट पनि लागुऔषधसहित बैतडीका एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ गल्ली नम्बर ५ मा कोठा गरि बस्ने बैतडीको दशरथचन्द नगरपालिका–४ का रमेश लुहार लागुऔषधसहित पक्राउ परेका हुन्।

लुहारलाई १ ग्राम शून्य ९ मिलिग्राम लागुऔषधसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको  संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। बुधबार साँझ थप लागुऔषधसहित ५ जना पक्राउ परेका थिए। भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट शुक्लाफाटा नगरपालिका–१ वन्साहाका २० वर्षीय सन्तोष विष्टसहितका पाँच जनालाई एक दशमलव ९० ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको थियो।

कमेन्ट लोड गर्नुस