गोदावरीमा वनकी अध्यक्षले एकलौटी गरेपछि ११ जनाले दिए सामुहिक राजीनामा
धनगढीः कैलालीको गोदावरी नगरपालिकास्थित एक सामुदायिक वनकी अध्यक्षले एकलौटी निर्णय गर्न थालेपछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ मा रहेको श्री बासकोटा सामुदायिक वन उभोक्ता समुहकी अध्यक्षले आफुअनुकुल निर्णय गर्न थालेपछि ११ जना पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका हुन्। अध्यक्ष कृष्णादेवी जोशीले आफुअनुकुल निर्णय गर्न थालेपछि उपाध्यक्षसहित कार्यसमितिका सबै सदस्यले पदबाट राजीनामा दिएका छन्।
अध्यक्षले मनोमानी रुपमा काठ कटानीदेखि ढूवानीसम्मै मनोमानी गरेको आरोप पदाधिकारीको छ। अध्यक्ष जोशीले आफ्नै छोरा शिवराज जोशीलाई काठ कटानीको ठेक्का समेत दिएकी छन्। यो कुरा अध्यक्ष जोशी आफैले स्वीकार गरेकी छन्। त्यस्तै वन क्षेत्रबाट निर्णयविपरीत गिट्टी उठाउने, एक अर्काबिच विवाद सिर्जना गराउने लगायत कारण आफुहरुले पदबाट सामुहिक रुपमा राजीनामा दिएको सचिव टेकबहादुर खड्काले बताए।
अध्यक्ष जोशीले गरेका आफुअनुकुलका निर्णयका विषयमा सव–डिभिजन वन कार्यालय अत्तरियालाई लिखित रुपमा निवेदन समेत दिइसकेको उनले बताए। तर अध्यक्ष जोशीले भने आफुले कुनै पनि निर्णय एकलौटी रुपमा नगरेको दाबी गरेकी छन्। अध्यक्ष जोशीका अनुसार नियम संगत तरिकाबाटै साल, सिसम र खैर गरेर २१ वटा रुखको कटानी गरिएको छ।
रुख कटानीको जिम्मा आफ्नो छोराले पाएको र प्रतिक्युफिट ६४ रुपैयाँ कायम गरिएको उनको भनाई छ। यो विषयमा सव–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कँडेलले सुरुमा अध्यक्षप्रति असन्तुष्ट जनाउँदै ११ जनाले साहुहिक रुपमा राजीनामा दिएको र पछि अध्यक्षले पनि राजीनामा दिएपछि यो विषय साधारण सभा राखेर टुंग्याउन भन्दै पत्राचार गरिएको बताए।
११ जना पदाधिकारीले अध्यक्षले उपभोक्ता समितिको निर्णयविपरीत काम गर्ने गरेको तथा एकलौटी रुपमा चल्ने गरेको लगायत आरोप लगाएर सामुहिक रुपमा राजीनामा दिएको खुल्न आएको सव–डिभिजन वन कार्यालय अत्तरियाले बताएको छ।