कैलालीमा असुरक्षित सवारी यात्रा, एकैदिन तीन महिलासहित ९ जना घाइते
धनगढीः कैलालीमा सवारी यात्रा असुरक्षित बन्न थालेको छ। हिजो (शुक्रबार) मात्र तीन महिलासहित ९ जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोक नजिकै स्कारपियो र पिकअप बोलेरो जिप बाटो क्रस गर्ने समयमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। स्कारपियोमा सवार गोदावरी नगरपालिका–५ की ४१ वर्षीया एक महिला घाइते नै भएकी छन्। उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका–१ खुलामञ्च नजिकै जेसीबीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी पछाडी सवार धनगढी–१ कै १७ वर्षीय एक किशोर घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। उता गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्ग अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकललले ठक्कर दिँदा सोही स्थानका २ महिला घाइते भएका छन्। घाइते दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
एक युवकको मृत्यु
कैलालीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु नै भएको छ। शुक्रबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–५ जाईका २८ वर्षीय संजय चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कबिन्द्रबहादुर बोहराका अनुसार अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
चौधरीलाई तत्काल उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। ६ लेन सडक खण्ड अन्तर्गत धनगढीको चटकपुरमा शुक्रबार राति नै दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन्।
धनगढी–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएको डिएसपी बोहराले बताए। धनगढी–३ का सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय उमेश चन्द, से ७ प ५७४१ नम्बरको मोटरसाइकलका चालक अछाम साफेबगर नगरपालिका–१४ का १९ वर्षीय कैलाश साउँद घाइते भएका छन्।
साउँदकै मोटरसाइकल पछाडी सवार डोटीको दिपायल–सिलगढी नगरपालिका–१ का २२ वर्षीय खगेन्द्र खड्का र धनगढी–९ का २७ वर्षीय बिरेन्द्र बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार घाइते चालकसहित चारै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, चुरे गाउँपालिका–३ मा पर्ने भासुमा जिप र विद्युतीय गाडी ठोक्किदा थप एक जना घाइते भएका छन्। जोरायलबाट धनगढीतर्फ आउँदै गरेको म १ च ४०७ नम्बरको जिप र धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४ ००१ ज ००३४ नम्बरको विद्युतीय हाइस एकआपसमा ठोक्किदा हाइसमा सवारी चुरे गाउँपालिका–१ का २१ वर्षीय राकेश विक घाइते भएको प्रहरीले जनाएको छ।
घाइते विकको पदमा अस्पताल अत्तरियामा उपचार जारी छ। जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय सुप्रिम राना र हाइस चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २५ वर्षीय दशरथ भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।