सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा माध्यमिक विद्यालयले पायो लालपुर्जा

२०८१ भदौ २१, ०४:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयले जग्गाको लालपुर्जा पाएको छ। बिहीवार एक समारोहकाबिच विद्यालयलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारूको अध्यक्षता र वडाअध्यक्ष रामलाल चौधरीको प्रमुख आतिथ्यतामा समाजसेवी तथा विद्यालय संस्थापक परिवारबाट ओमप्रकाश भण्डारी र प्रभाकार भण्डारी, पूर्व वडाअध्यक्ष लक्ष्मीनारायण चौधरी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर चन्द, रामसिंह राना, डिलबहादुर बोहरा निर्मलकुमार ओझा, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष मनिराम जैसी तथा शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा विद्यालयलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।

२०३५ सालमा सो विद्यालयको नाममा दर्ता १५ बिघा १२ कट्ठा जमिन २०५२ सालको नापीले हालसाविक गर्दा पर्ति, जंगल र खोल्सी लेखेको थियो। त्यसपछि २०७२ सालमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर बोहराले जग्गा दर्ता गर्ने प्रक्रिया थालेका थिए। २०७५ साल फागुनमा प्रधानाध्यापक भोजराज शर्माले प्रशासनिक नेतृत्व लिएपछिको पहिलो बैठकले जग्गा दर्ताको प्रक्रिया फेरि अगाडि बढाइएको थियो।

२०७६ साल असारसम्म कुनै उपलब्धि नभएपछि कैलाली जिल्ला अदालतमा तत्कालीन  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार ओझालाई प्रतिवादी बनाएर अधिवक्ता भोजराज भण्डारीमार्फत २०७६ भदौ १ गते मुद्दा दर्ता गरिएको थियो। लगातारको मेहेनतपछि २०८० साउन १५ गते करिब ५ बर्षमा ५९ तारेख लगाउँदै विद्यालयको पक्षमा फैसला भएको प्रधानाध्यापक शर्माले बताए।

त्यसपछि नापी र मालपोतलाई अदालतले विद्यालयलाई पुर्जा दिन आदेश गरेको शर्माले बताए। ‘२०८१ भदौमा हालसाविक गरी  मालपोत कार्यालय कैलालीले लालपुर्जा प्रदान गरेको हो।। लालपुर्जा प्राप्त गर्दा बाटोले चर्चेको जमिनको लगत कट्टी भई १२ विगाहा २ धुर जमिन विद्यालयले वैधानिक रुपमै पाएको छ’, उनले भने, ‘यो लामो र कठिन काममा विद्यालयको ६ लाख भन्दा बढी खर्च भएको छ। यो रकम सोधभर्ना हुन सके पुस्तकालयलाई व्यवस्थित बनाउने योजना छ।
विद्यार्थीहरूलाई पुरस्कार वितरण 
लालपुर्जा हस्तान्तरण लगत्तै कक्षा १० र १२ को बोर्ड परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १/१ जना छात्र र छात्रालाई जनही १५ सय नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। कक्षा १० बाट छात्र लखन चौधरी र छात्रा पशुपति साउँद, कक्षा १२ बाट छात्र कमल कँडेल र छात्रा प्रतीक्षा बोहराले पुरस्कार पाएका हुन्।  

कार्यक्रममा १० र १२ कक्षा उत्तीर्ण सबै विद्यार्थीलाई टीका, खादासहित सम्मान गरिएको थियो। कार्यक्रममा तिजको उपलक्ष्यमा नृत्य प्रतियोगितासमेत गरिएको विद्यालयले जनाएको छ। प्रतियोगितामा विद्यालयका २० वटा समूहले भाग लिएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरस्कृत गरिएको प्रधानाध्यापक शर्माले बताए।

कमेन्ट लोड गर्नुस