अछाममा गाउँपालिकाको पसिरमा मदिरा सेवन गरेका २ जनाबाट युवा कुटिए
धनगढी : अछामको मेल्लेख गाउँपालिकाको कार्यालय परिसरमा एक युवक कुटिएका छन्। मेल्लेख गाउँपालिका–५ खिमाडाका गोकुल बोहरा र गौतम साउँदले सोमवार राति मदिरा सेवन गरेर पत्रकार लाल चदारालाई कुटपिट गरेका हुन्।
उनीहरूले मदिराको तालमा गाउँपालिका कार्यालयको ढोकामा समेत लात्तीले हानेका थिए। स्थानीय समेत रहेका पत्रकार लाल चदारालाई दुई युवाले गालीगलौज, लछारपछार र कुटपिट गरेका हुन्। मदिरा सेवन गर्न आवश्यक रकम माग्ने र नदिनेलाई गालीगलौज र कुटपिट गर्ने गरेका प्रहरीले बताएको छ।
तर, पीडित लाल चदारा प्रहरीमा गएका छैनन्। मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काकी श्रीमतीलाई उनीहरूले नै गालीगलौज गरेपछि प्रहरीलाई खबर गरिएको थियो। उनीहरू जिल्ला प्रहरी कार्यालय, अछामको थुनुवा कक्षमा रहेका छन्। उनीहरूको विरुद्धमा अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले गाउँपालिकाका उपाध्यक्षकी श्रीमतीको निवेदनको आधारमा दुई युवकलाई पक्राउ गरिएको बताए। उनले अनुसन्धान र प्रमाणका आधारमा उनीहरूलाई थप मुद्दा समेत चलाउन सकिने बताए।
साँफेमा आयोजना गरिएको तिज प्रतियोगितामा सहभागी हुन आवश्यक रिहर्सल गरिरहेका बेला बोहरा र साउँदले मदिराको तालमा ढोकामा लात्ती बजार्दै भित्र प्रवेश गरेका आरोप छ। कार्यालय भित्र प्रवेश गरेका उनीहरूको कुटपिटबाट चदाराको टाउको र खुट्टामा चोट लागेको छ।
पालिका छिरेर अपशब्द बोलेका उनीहरूले मेल्लेख प्रहरी चौकीको प्राङ्गणमा समेत गालीगलौज गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।