सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अधिकांश महिला सरसफाईमा जुटे

२०८१ भदौ १९, ०६:५३ खबर संवाददाता

धनगढीः ‘हाम्रो धनगढी सफा धनगढी’ अभियान अन्तर्गत कैलालीको धनगढीमा अधिकांश महिलाहरु सरसफाईमा जुटेका छन्।

उपमहानगरपालिकाले सुरु गरेको यो अभियानमा जोडिने महिलाको संख्या दैनिक रुपमा बढ्न थालेको छ। उपमहनगरपालिकाभित्रका १९ वटै वडाका प्रत्येक टोलमा सरसफाई संयोजक नै तोकेर आफ्नो गाउँघर एवं टोल सफा गर्ने काम भइरहेको छ। अधिकांश वडा, टोल एवं गाउँघरमा महिलाकै संयोजकत्वमा सरसफाई समिति गठन गरेर आफ्नो टोल सुन्दर र सफा बनाउने काम भइरहेको हो।

सहरी क्षेत्रदेखि गाउँघरसम्मै दैनिक रुपमा सरसफाईको काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ। सरसफाई अभियानमा सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी समेत जुटेका छन्। विद्यालय क्षेत्रको पाँच सय मिटर वरिपरी विद्यार्थी आफैले सरसफाई गर्ने काम गर्दै आएका छन्।

धनगढीलाई नेपालकै सफा सहरको रुपमा चिनाउन अधिकांश संघसंस्था समेत यो अभियानमा जोडिएका छन्। धनगढीमा जथाभावी फोहर फाल्न समेत निषेध गरिएको छ। धनगढीमा प्लास्टिकको प्रयोग करिब डेढ वर्षदेखि प्रतिबन्धित छ। जथाभावी फोहर नफाल्न उपमहारपालिकाले धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई समेत सचेत गराउने कामको सुरुवात गरेको छ।

सफा धनगढीसँगै हरियाली धनगढी बनाउने अभियान पनि जारी नै छ। धनगढीका धेरै स्थानमा वृक्षारोपण गरेर हरियाली धनगढी अभियानलाई सार्थक बनाउने प्रयास भइरहेको छ। यसका साथै उज्यालो धनगढी अभियानले पनि सार्थक रुप लिएको छ। सफा धनगढी, हरियाली धनगढी र उज्यालो धनगढी अभियान एक साथ अघि बढाइएको हो। यस्तो अभियानमा उपमहानगरवासीले खुलेर सहयोग र साथ दिइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

May be an image of 13 people

कमेन्ट लोड गर्नुस