सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई सेवामा सुदूरपश्चिमको पहुँच १० प्रतिशत मात्र

२०८१ भदौ १७, १०:२६ खबर संवाददाता

धनगढीः हवाई सेवामा सुदूरपश्चिम प्रदेशको पहुँच १० प्रतिशत मात्र छ।

१० वर्षे जनयुद्ध अघिसम्म डडेल्धुराबाहेक सुदूरपश्चिमका सबै जिल्लामा हवाई सेवा उपलब्ध थियो। युद्धकालमा अधिकांश विमानस्थलहरु बन्द हुन पुगे। मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको लामो समय वितिसक्दा पनि अधिकांश विमानस्थल अझै बन्द छन्। सुदूरपश्चिममा नियमित रुपमा उडान हुने धनगढी एक्लो विमानस्थल हो। फाटफुट रुपमा पहाडी केही जिल्लामा उडान हुने गरेको भए पनि विविध कारण समयसमयमा अवरुद्ध हुने गरेको छ।

सुदूरपश्चिमका ९० प्रतिशत नागरिक हवाई सुविधाबाट वञ्चित छन्। सुदूरपश्चिम प्रदेशको हवाई सेवा विस्तार र विकासको विषयमा यहाँको प्रदेश र कुनै पनि स्थानीय तहसँग कुनै प्लान नै छैन्। संघीय सरकारले त बजेट दिने हो तर आफ्नो प्रदेशको हवाई सेवा विस्तार र विकासका लागि त प्रदेश र स्थानीय सरकारसँग प्लान हुनुपर्ने आवाज उठ्न थालेको छ।

सुदूरपश्चिममा हवाई सेवा भनेको एकदमै न्युन अर्थात १० प्रतिशत मात्र भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए। उनी भन्छन्, ‘काठमाण्डौं–धनगढी अनि धनगढी–काठमाण्डौं नियमित कनेक्टिभिटी भनेको यति हो।’ राजाकै पालमा बनेका विमानस्थल पनि सञ्चालनमा ल्याउन सक्ने हो भने सुदूरपश्चिमका जनताको हवाइ सेवासँग पहुँच बढ्ने देखिन्छ। तर यो विषयमा कसैको ध्यान जान सकेको छैन्।

बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द छन्। बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन। सुदूरपश्चिममा सहज हवाई सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास समेत हुन सकेको छैन्।

नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्र विदेशी पर्यटक आएका छन्। जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन नसक्ने यहाँका पर्यटन व्यवसायीको तर्क छ। विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था वर्षेनि दोहोरिने गरेको छ।
दिपायल विमानस्थल
डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ। माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रुपमा बन्द सो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो। केही महिना नियमित उडान भएको सो विमानस्थलमा जहाज आउन अहिले पुनः बन्द भएको छ।
साँफेबगर विमानस्थल
२०२४ सालमा निर्माण सुरु भएको अछामको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो। २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो। ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आए पनि नियमित उडान हुन सकेको छैन्। अछामकै कमलजार विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन्।
देवल विमानस्थल बझाङ
२०३२ सालदेखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो। ६ सय ५० मिटर धावनमार्ग कालोपत्र भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा हाल यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ। 
पाटन विमानस्थल बैतडी
२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो। पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भयो।

पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द छ। २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन्।
गोकुलेश्वर विमानस्थल दार्चुला
२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। कैलालीको टीकापुर र कञ्चनपुरको मझगाउँ विमानस्थल पनि वर्षौदेखि बन्द अवस्थामा छन्।

कमेन्ट लोड गर्नुस